गीता कुँवर
अछाम, फागुन २०
कलकल बग्ने बूढीगंगा, सरर चल्ने बतास। चारैतिर अग्ला डाँडा, छेउमा सुन्दर साँफे बजार। प्रकृतिको सुन्दरता र भव्यतासँगै वैद्यनाथ धाममा चलिरहेछ, कोटीहोमको धूमधाम।
१२ वटा ज्योतिर्लिंगमध्ये वैद्यनाथ धाममा छ, एउटा ज्योतिर्लिंग। हिन्दू वैदिक सनातन धर्म अनुसारका चार धाममध्ये वैद्यनाथ पनि एक हो। सुनसरीको बराह क्षेत्र, काठमाडौंको पाशुपत क्षेत्र, मुस्ताङको मुक्तिनाथ क्षेत्रपछि अछामको वैद्यनाथ चारधाममा पर्छ।
मन्दिरको प्राङ्गणका बीच भागमा मञ्च निर्माण गरिएको छ। भित्र चार ढोका भएको वैद्यनाथ धाम मन्दिर, वरिपरि अष्ठ भैरव, मालिका, कालिका, पार्वतीका मन्दिर, माण्डपनाथ मन्दिर, चार देवल छन्। ६ देवल रहेकोमा दुई देवल बाढीले बगाएपछि अहिले चार मात्र छन्। मन्दिर परिसरमै यज्ञशाला छ, प्रतीक्षालय, बैठक कक्ष पनि मन्दिर परिसरमै बनाइएका छन्।
वैद्यनाथ क्षेत्रको अर्को धार्मिक मान्यता छ। रावणले यही क्षेत्रमा तपस्या गरी वरदान प्राप्त गरेको विश्वास गरिन्छ। भगवान् शिवजीको दर्शनका लागि रावणले कैलाश पर्वतमा तपस्या गरेका थिए। तर, त्यहाँ उनले शिवजीबाट बर प्राप्त गर्न सकेनन्। त्यसपछि भारतको झारखण्डमा तपस्या गरेको पाइन्छ। रावणले त्यहाँ पनि वर प्राप्त गर्ने अवस्था देखेनन। अनि, रावणले अछामको वैद्यनाथ क्षेत्रमा हवन गर्न सुरु गरेको विभिन्न हिन्दू धर्म ग्रन्थहरूमा उल्लेख छ। धार्मिक ग्रन्थहरूका अनुसार रावण धेरै जिद्दी स्वभावका थिए, उनले जे कुरा चाहन्थे त्यो प्राप्त गर्नका लागि जस्तोसुकै बलिदानी दिन पनि तयार हुन्थे।
वैद्यनाथ धाम मन्दिरका पुजारी देवराज उपाध्यायले १० टाउका भएका रावणले आफ्नो लक्ष्य प्राप्त गर्न आफ्ना टाउको काट्दै हवन गर्दै गए। नौ टाउका काटेर होमकुण्डमा हालिसक्दासमेत शिवको दर्शन नपाएपछि पूरै शरीर हवन गर्ने सोचेर दसौं टाउको काट्न थाले। त्यही बेला शिवजीले वैद्यका रूपमा दर्शन दिएका थिए।
वैद्य भएर भगवान् शिवले रावणका सबै टाउकाहरू फेरि जोडेका कारण यस क्षेत्रको नाम वैद्यनाथ धाम राखिएको हो। यसरी भगवान् शिवको दर्शन पाएपछि रावणले शिवजीसँग वाचा गराई शिवलिंग लंका लैजान पाउँ भनी माग गरेका थिए। वाचाअनुसार शिवले आफ्नो लिंग दिए। सो कुरा पार्वतीले थाहा पाएपछि उनले अदृश्य शक्तिको प्रयोग गरिन्।
रावणले शिवलिंगलाई उठाउनै नसक्ने गरी निकै गह्रौं बनाइन्। रावणले लैजान नसकेपछि त्यो शिवलिंग यसै वैद्यनाथ क्षेत्रमा रहेको पुराणमा उल्लेख भएको पुजारी उपाध्यायले बताए। उनले भने, हुन त भारतले झारखण्डमा रहेको वैद्यनाथ धामलाई असली वैद्यनाथ धाम भनेर प्रचार गर्दैछ, तर पुराणहरूमा गरिएको व्याख्याअनुसार सबै कुरा अछामकै वैद्यनाथ धामसँग मात्रै मेल खान्छन्। वैद्यनाथ धाम क्षेत्रमा (वृद्धगंगा बूढीगगा), पद्मा नदी (पाइली गाड), गोदावरी नदी (प्रभाली नदी) र सरस्वती नदी (प्रभाली गाड) यस क्षेत्रमा मात्रै छन्, जुन पुराणमा व्याख्या गरिएका छन्।,
यस्तै, खेचरादी पर्वत (खप्तड) को फेदमा रहेको भन्ने उल्लेख भएको तर भारतमा खेचरादी पर्वत नभएको उपाध्यायको दाबी छ। मन्दिरमा महाशिवरात्रिका दिन धुमधामसँग मेला लाग्ने गर्छ। उक्त मेलामा नेपालका साथसाथै भारतको उत्तराखण्ड, उत्तर प्रदेश, विहारलगायत क्षेत्रबाट भक्तजन आउने गरेको छन्। उक्त मेलामा सशस्त्र प्रहरी बलले सलामी दिने प्रचलन रहेको छ। यहाँको लोप हुन थालेको पुराना कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले माघे सङ्क्रान्तिका दिन धाममा भव्य मेला लाग्ने गरेको छ। त्यो दिन यहाँ होरी, पुतला, न्याउले भुवो नाच प्रदर्शन गरिन्छ।
राष्ट्र शान्तिका लागि बटुकहरूले प्रत्येक बिहान दुई घण्टा रुद्राभिषेक गर्ने गरेको गरिन्छ। वैद्यनाथ सिद्धस्थलका रूपमा रहेको प्राध्यापक वेदान्त कोटीहोम महायज्ञका प्रमुख आचार्य भवानीप्रसाद खतिवडाले बताए।
भारत वर्ष भरीमा जम्मा १२ वटा ज्योतिर्लिंग रहेको र त्यसमध्ये एउटा ज्योतिर्लिंग साँफेको वैद्यनाथमा रहेको बताए। उनले भने, ‘भारत वर्ष भन्नाले केबल इन्डिया मात्र होइन, नेपाल पनि भारत वर्षको युगबाट सुरु भएको हो, त्यसैले १२ वटामध्ये एक महत्वूपर्ण ज्योतिर्लिंग साँफेबगर नगरपालिका–१ वैद्यनाथमा पर्छ। यसलाई जगत गुरु शंकाचर्याले लेख्नु भएको ज्योतिर्लिंग स्तुतिमा उल्लेख गरिएको छ। वैद्यनाथ भारतका बिभिन्न ठाउँमा छन् तर वास्तविक ज्योतिर्लिंगङ्ग यही वृद्धगंगामा अवस्थीत छ। यसलाई विभिन्न शास्त्रहरू मानसखण्ड, शिबमहापुराण, स्कन्द पुराणबाट पनि प्रमाणित छ।’ यसको धार्मिक र यसको महिमाको विषयमा जति प्रचार–प्रसार हुनुपर्ने हो त्यत्ति नभएको प्राध्यापक खतिवडाले बताए।
नेपालको चारधाम मध्येको एक धाम अछामको वैद्यनाथ धाम भएको शास्त्रहरूमा लेखिए जसरी सरकारबाट पनि यसलाई लिखित मान्यता दिनुपर्नेमा उनले जोड दिए। खतिवडाका कोटीहोम भनेको यज्ञ मध्येको सबैभन्दा ठूलो यज्ञ हो। कर्ताको संकल्पअनुसार कुनै पनि मन्त्रद्वारा १ करोड २५ लाख पटक हवन गरिन्छ। त्यसको १० प्रतिशत १ लाख २५ हजार तर्पण, तर्पणको १० प्रतिशत १२ हजार ५ सय मार्जन र मार्जनको १० प्रतिशत १ हजार २५० ब्राह्मणले भोजन गरेर सम्पन्न गरिने हवनात्मक यज्ञलाई कोटीहोम भन्ने गरिएको खतिवडाले बताए।
वैद्यनाथको प्रचार–प्रसार र यसको ऐतिहासिक र धार्मिक महत्व दर्शाउन बहृत् रूपमा धार्मिक गोष्ठीको आयोजना हुनपर्ने उनले बताए। उनले भने, ‘मैले यहाँका आयोजकहरूलाई यसको सल्लाह दिएको छु, यससम्बन्धी जानकारहरूलाई बोलाएर बहृत् गोष्ठी गर्नुपर्छ। यसलाई चारधामका रूपमा स्थापित गराउनुपर्छ।’
वेद विद्याश्रम
वैद्यनाथ धाममा वेद विद्याश्रमको स्थापना गरिएको छ। वैदिक सनातन जोगाउनका लागि विसं २०५५ मा मन्दिर परिसरभित्रै वेद विद्याश्रमको स्थापना गरिएको हो। यहाँ कक्षा ६, ७ र ८ को पढाइ हुने गर्छ। विद्याश्रममा बाजुरा, बझाङ र अछामका विद्यार्थी छन्। उक्त विद्याश्रममा हाल २९ विद्यार्थी छन्। विद्याश्रममा एक दरबन्दी र दुई राहत गरी तीन जना सरकारी शिक्षक गरी ५ जना कर्मचारी छन्। एक सय जना विद्यार्थीलाई पढाउने र राख्ने क्षमता भए पनि सो अनुसारको विद्यार्थी संख्या नपाएको प्रधानाध्यापक देवराज उपाध्यायले बताए।
वेद विद्याआश्रममा महेन्द्र कुँवर फाउन्डेसनले आर्थिक सहयोग गर्दै आएको उनले बताए। २०७९ सालदेखि विद्याश्रमलाई खाद्यन्न लत्ताकपडा, आवश्यक सामाग्री उपलब्ध गराउँदै आएको छ। विद्याश्रमलाई १५ देखि २० लाख सहयोग फाउन्डेसनबाट सहयोग भइसकेको उपाध्यायले बताए।
उनले भने, ‘सबैभन्दा ठूलो महेन्द्र आर्थिक सहयोग महेन्द्र फाउन्डेसनबाट भइरहेको छ। हामीलाई अपुग भएको सहयोग फाउन्डेसनले गर्दै आएको छ। अन्य व्यक्तिहरूबाट सहयोग भईरहेको छ। गाउँबाट पनि खाद्यान्न संकलन गर्छाैं।’ विद्याआश्रमको मद्दती खातामा १ करोड १२ लाख रहेको र चल्तीमा १० लाख बचत रहेको उपाध्यायले बताए। मन्दिरको दानभेटीबाट प्राप्त रकम ९ लाख मुद्दती र ३ लाख चल्तीमा रहेको जानकारी दिए।
दुई वर्ष पहिले नै गुरुयोजना निर्माण
नेपालका चार धाममध्येको एकधाम वैद्यनाथ क्षेत्र विकास संस्थाको गुरुयोजना निर्माण भइसकेको छ। तर, संरचनाहरू भने योजनाअनुसार निर्माण भने हुन सकेको छैन। मुख्य गरी नदिको कटानका कारण जोखिममा छ वैद्यनाथ धाम। बर्सेनि गरिएको तटबन्धन बाढीले बगाउने गरेको छ। गत वर्ष निर्माण गरिएको पक्की तटबन्धन समेत भत्किएको छ। गुणस्तरहीनका कारण तटबन्धन भत्किएको भन्दै स्थानीयहरूले गुनासो गर्दै आएका छन्।
सेती लोकमार्गले छोएको धार्मिक तथा पर्यटकीयस्थल वैद्यनाथलाई व्यवस्थित र दिगो विकास गर्दै पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले बृहत्तर गुरुयोजना निर्माण गरिएको हो। अल्फा इन्जिनेरिङ कन्सल्टेन्सीले गुरुयोजना निर्माण गरेको हो। अल्फा इन्जिनेरिङ कन्सल्टेन्सी प्राइभेट लिमिटेडका डाइरेक्टर दानबहादुर रावलले गुरुयोजना निर्माण गरिएको जानकारी दिए। गुरुयोजनामा वैद्यनाथ धाम क्षेत्रमा बर्सेनि हुँदै आएको कटान रोक्नलाई पहिलो प्राथमिकता दिएको छ।
नदीको दायाँबायाँ लुग्रेली गाडमा पक्की तटबन्धलाई गुरुयोजनामा समेटिएको छ। वैद्यनाथ क्षेत्र विकास संस्थाकोे गुरुयोजनामा तीनतले अतिथि भवन, चारतले सन्त आवास भवन, दुईतले पिर भवनको संरचना निर्माण रहेको छ। गुरुयोजनमा कार्यालयको चारतले भवन निर्माण गर्ने उल्लेख गरिएको छ। उक्त चारतले भवनमा वैद्यनाथ क्षेत्र विकास समितिको कार्यालय, वैद्यनाथ धार्मिक पर्यटन विकास व्यवस्थापन समिति, गुठी कार्यालय र ध्यान कोठा रहने छ।
गुरुयोजनामा वैद्यनाथ क्षेत्रमा १ सय ५० जना जना अट्ने सभागृह, अछामी नौमुठे गाईको संरक्षणको २० वटा गाई अट्ने गोठको निर्माण, सार्वजनिक मञ्च, तीनतले होमस्टे भवनको नमुना नक्सा, सडक निर्माणलाई समेटिएको छ। अहिले वैद्यनाथ धामको प्रांगणमा सौर्य बत्ती, प्रांगणको बीच भागमा मञ्च, भित्र चार ढोका भएको वैद्यनाथको मन्दिर, मन्दिर वरिपरि अष्ठ भैरव, मालिका, कालिका, पार्वतीका मन्दिर, माण्डपनाथ मन्दिर, चार देवलहरू छन्।
यस्तै दुई तले संग्रहालय भवन निर्माणाधीन, पार्कको निर्माण कार्य सुरुवात, अतिथि भवनको निर्माण कार्य सम्पन्न, ज्येष्ठ नागरिकको लागि वृद्धआश्रम निर्माण कार्य सम्पन्न भएको छ। यहाँका महत्वपूर्ण र अति रमणीय धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूलाई चिनाउनका लागि गुरुयोजना निर्माण गरिएको छ। मन्दिर संरक्षण र व्यवस्थापनका लागि विसं २०४४ सालमा वैद्यनाथ क्षेत्र विकास संस्था र २०७७ मा वैद्यनाथ पर्यटन विकास तथा व्यवस्थापन समितिसमेत स्थापना गरिएको छ।
सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत वैद्यनाथ पर्यटन विकास तथा व्यवस्थापन समितिलाई ८०÷८१ मा १७ लाख ६५ हजार बजेट रहेको समितिका कार्यकारी भरत कुँवरले बताए। सार्वजनिक शौचालय, पानीको फोहोरासहित यज्ञकुण्ड र घेरा पर्खालका लागि टेन्डर गरिएको कुँवरले बताए। स्थापना भएको सुरुको वर्षमा २०७७ सालको अन्तिममा ८० लाख बजेट आएको समितिका अध्यक्ष खडक खड्काल बताए।
बजेट भौतिक संरचना निमार्ण ,प्रचारप्रसार र प्रशासनिक क्षेत्रमा खर्च गरिएको खड्काले बताए। उनले भने, ‘७८÷७९ कर्मचारीको तलब बाहेक अरू बजेट आएन। बजेट जिरो जस्तै भयो। आएको बजेटको पनि संरचनाहरू निर्माणको प्रक्रिया सुरु भएको छ।’
वैद्यनाथमा १४४ वर्षपछि कोटीहोम महायज्ञ
बान्नीगढी जयगढ गाउँपालिकाका–१ गाज्राका डम्बरु खड्का ४० वर्षपछि अछाम पुगिन्। बसाइँसराइ गरी काठमाडौं गएका खड्का कोटीहोम महायज्ञका लागि वैद्यनाथ मन्दिर पुगेकी हुन्। वैद्यनाथको विषयमा धेरै सुनेको भए पनि दर्शन गर्ने अवसर कहिले पनि नजुरेको उनले बताइन्।
उनले भनिन्, ‘यहाँ हुँदा कहिले दर्शक गर्ने मौका मिलेन, बसाइँसराइ गरी ४० वर्ष पहिले नै काठमाडौं गइसकेका थियौं, योपटक भने जसरी पनि जानुपर्छ भनेर कोटीहोम लागेको बेला दर्शन गर्न आए।’
कोटीहोममा दर्शन गर्नका लागि देशभित्रका लगायत भारतका बिभिन्न ठाउँबाट भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ।