Hamro Patra
बढ्यो टीकापुर पार्कमा आन्तरिक पर्यटकको चाप

योगेश रावल
टीकापुर, कात्तिक १६
दशैंतिहारको समापनसँगै हरेक वर्ष झैं टीकापुर पार्क आन्तरिक पर्यटकले भरिभराउ भएको छ । सयौंको संख्यामा आन्तरिक पर्यटकहरु पार्क घुम्न आउने गरेका छन ।

कात्तिक १४ गतेदेखी आन्तरिक पर्यटकको घुईचो बढेको इञ्चार्ज अर्जुनबहादुर कुँवरले जानकारी दिएका छन ।

बस, ट्याक्टर, जीप लगायतमा चढेर टाढाटाढाबाट मान्छेहरु आउने गरेका छन । गोरुगाडा, अटोरिक्सा र पैदलै आउने आन्तरिक पर्यटकको संख्या पनि अत्याधिक छ । लम्की–टीकापुरदेखी पार्क रोडमा सवारी साधनको अत्याधिक चाप रहन्छ । खासगरी शुक्रवार र शनिवारका दिन पार्क घुम्न आउनेको संख्या अधिक रहने इञ्चार्ज कुँवरले बताए ।

Khadga Memorial And Janajagriti

पार्कको संरक्षण गर्दै आएको टीकापुर नगरपालिकाले आन्तरिक पर्यटकको चापलाई मध्यनजर गर्दै दशैंतिहार पछि थप कर्मचारी खटाएको छ । नगरपालिका मातहतका १४ जना कर्मचारीले भने पार्कको नियमित रेखदेख गर्दै आईरहेका छन ।

आन्तरिक पर्यटकको अत्याधिक चाप हुने भएकाले कर्मचारी संख्या कम पर्ने गरेको छ । जसले गर्दा राजश्व संकलनका साथै पार्कको रेखदेखमा समेत समस्या पर्ने गरेको इञ्चार्ज कुँवरले बताए । कुँवरका अनुसार पार्कको वरीपरी घेरावार नभएका कारण पनि प्रवेश शुल्क नतिरेरै पार्क प्रवेश गर्ने संख्या समेत अधिक रहने गरेको छ ।

पार्कमा बिहान ५ बजेदेखी नै आन्तरिक पर्यटकको चहलपहल सुरु हुन्छ । यो क्रम साँझ ५ बजेसम्मै जारी रहन्छ । अघिपछि पार्क पर्यटकका लागि बिहान ८ बजे मात्रै खुल्ने व्यवस्था छ ।

अधिकांशले देउसी भैलो खेलेर टीकापुर पार्कमा घुम्ने योजना बनाउने चलन छ । पार्क घुम्न आउने पर्यटकमा युवायुवती देखी वृद्धवृद्धासम्म रहने गरेका छन । कतिपय परिवारको घुमघामको रोजाई टीकापुर पार्क बन्ने गरेको छ ।
पार्क नजिकै पिकनिक स्थलको समेत व्यवस्था गरिएको छ । पिकनिक मनाउन आउनेका लागि समेत शुल्क निर्धारण गरिएको छ । इञ्चार्ज कुँवरले २५ जनाको समूहलाई दुई सय र सो भन्दा माथि संख्या भएकालाई तीन सय शुल्क निर्धारण गरिएको जानकारी दिए । पिकनिक स्थलमा खानेपानी, शौचालय, घेरापर्खाल लगायतको बन्दोबस्त गरिएको छ ।

पर्यटक मुख्य गरी टीकापुर पार्कको सुन्दरता अवलोकन गर्नुका साथै वनभोज (पिकनिक) खान आउने गरेका छन् । कर्णाली नदी किनारमा अवस्थित पार्क ८४ विगाह क्षेत्रफलमा फैलिएको छ ।

टीकापुर पार्क गुलाबका लागि चर्चित छ । पार्कमा झण्डै ४० प्रकारका गुलाब छन् । कुनैबेला यो संख्या अझ धेरै थियो । धेरै कम स्थानमा देख्न मिल्ने कालो रंगको गुलाब यही छ । राता, पहेला, सेतो, हरियो, बैजनी रंगका थुप्रै गुलाब देख्न सकिन्छ ।

गुलाबले सबैको मन लोभ्याउने गरेको छ । प्राय सबैको आकर्षणको केन्द्र समेत यिनै गुलाब बन्न पुगेका छन् । गुलाबको बोट नजिकै उभिएर तस्वीर कैद गर्नु सबैको प्राथमिकतामा पर्छ ।

पार्कलाई मुख्य गरी तीन भागमा विभाजन गरिएको छ । महेन्द्र आरोग्य गृह, विरेन्द्र विश्राम बाटिका र फलफूल बगैचा । तत्कालिन राजा महेन्द्रले स्वास्थ्य लाभ गरेपछि यसलाई पार्कका रुपमा निर्माण गरिएको हो ।

पार्कमा सबैभन्दा बढी बर्दिया, सुर्खेत, दाङ, बाँके, कञ्चनपुर लगायतका जिल्लाबाट पर्यटक आउने गरेको पाईएको छ । अन्य समयमा पूर्वको झापाका साथै काठमाण्डौं, चितवन, कास्की, रुपन्देही, पाल्पा, नवलपरासी लगायतका जिल्लाबाट समेत आन्तरिक पर्यटक आउने गरेको पाईन्छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १४, २०७६  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update