Hamro Patra
हुलाकी सडकको अस्नेहरी–खक्रौला खण्डः चार वर्षमा ४५ प्रतिशतमै सीमित

टीकापुर, फागुन ११

दुई पटक थपिएको म्याद सकिएको महिना दिन बढी हुँदा समेत हुलाकी सडक अन्तर्गतको अस्नेहरी–खक्रौला सडक खण्डको प्रगति ४५ प्रतिशतमै सीमित छ ।

तीस महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको गाल्बा, रायमाझी, जगदम्बा जेभीले गत वर्ष पौष २५ गतेसम्मका लागि म्याद थप गरेको थियो । त्यसयता आयोजनाको म्याद थपिएको छैन ।

Khadga Memorial And Janajagriti

निर्माण कम्पनीले टीकापुर नगरपालिका वडा नं. ४ अस्नेहरीदेखि भारतीय सीमावर्ती खक्रौलासम्मको खण्डमा काम गरिरहेको छ । जम्मा ११.७ किलोमिटर सडक मध्ये एक किलोमिटर चारलेन र बाँकी दुई लेन सडक निर्माण भइरहेको हो ।

खक्रौलास्थित मोहना नदी पारी नेपाल–भारत सीमासम्म निर्माण गर्नुपर्ने उक्त सडकको रेखाङ्कन समेत भएको छैन । निर्माण कम्पनीले अस्नेहरीदेखि खक्रौलासम्मको ८ किलोमिटर सडकमा पहिलो बेस निर्माण सम्पन्न गरेर गिट्टी कुटाईको काम गरिरहेको जनाएको छ ।

तीस महिना भित्र निर्माण सम्पन्न गर्नेगरी लम्की–टीकापुर–खक्रौलासम्मको २९.७ किलोमिटर सडक तीन खण्डमा ठेक्का सम्झौता भएको थियो । पहिलो खण्डको लम्कीदेखि पथरैयासम्मको सडक गत असार महिनामै सम्पन्न भए पनि पथरैया–टीकापुर–अस्नेहरी र अस्नेहरी–खक्रौला खण्डको सडक निर्माणले अझै गति लिन सकेको छैन । निर्माण कम्पनीका म्यानेजर चन्द्र लम्सालले सडक खण्डमा ४५ प्रतिशत भौतिक प्रगति भएको दाबी गरे ।

‘हामीले लगभग सबै स्ट्रक्चरहरु सम्पन्न गरिसकेका छौंसडकको बेस निर्माणका लागि गिटी कुटाई चलिरहेको छ’ लम्सालले भने ‘क्रसरबाट गिटी उत्पादन भइरहेको छ भने अस्फाल्ट प्लान्ट जडान गरिरहेका छौं, आगामी असारसम्म हामी सबै सक्छौं ।’

दुई वर्ष अगाडि नै क्रसर प्लान्टका लागि टीकापुर नगरपालिकाले सिफारिस नगर्दा निर्माण कार्यमा ढिलाई भएको बताउँदै लम्सालले प्राविधिक रुपमा कुनै समस्या नभए आगामी असार मसान्तसम्म कालोपत्रे सम्पन्न गर्नेछौं ।

‘मोहना पुल भन्दा पारीको सडकका लागि रेखाङ्कनमा भारतीय पक्षले पहिले अवरोध गरेकाले हामीले त्यहाँ काम गर्न सकेका छैन’ लम्सालले भने ‘त्यहाँ साइड क्लियर हुने बित्तिकै शुरु गर्छौं र असारसम्ममा सक्छौं ।’

सँगै सम्झौता भएको लम्की खण्डको काम सम्पन्न भइसक्दा समेत कामको प्रगति नहुँदा स्थानीयले सास्ती व्यहोर्दै आइरहेका छन् । टीकापुरका व्यवसायी भुपेन्द्र खड्काले भने ‘सँगै सम्झौता भएको काम सकिन्छ, यता आधा पनि भएको छैन, सरकारी पक्षसँगको मिलेमतोमा निर्माण व्यवसायीले आलटाल गर्दै आएका छन् । समस्या आम यात्रुहरुले भोग्नु परेको छ ।’

हुलाकी सडक आयोजना धनगढीका प्रमुख पारसमणी हमालले हुलाकी सडक अन्तर्गत पथरैया–टीकापुर–अस्नेहरी र अस्नेहरी–खक्रौला सडकको म्याद अहिलेसम्म थप नभएको बताए ।

‘म्याद थप गर्नका लागि ठोस कारण चाहिन्छ, अहिलेसम्म त्यस्तो केही छैन’ हमालले भने ‘म्याद थपका लागि निर्माण कम्पनीले निवेदन दिए पनि समयमा काम नहुँदा नियमानुसार जरिवाना तोक्न बाध्य हुनेछौं ।’ हमालले आफूले निर्माण कम्पनीलाई सडक निर्माणको काम चाँडो सक्न पटक–पटक ताकेता गर्दै आयोजनाका तर्फबाट पर्याप्त कर्मचारी समेत खटाएको बताए ।

उक्त खण्डको ११.७ किलोमिटर सडकका लागि ३३ करोड २० लाखमा २०७७ असार १४ गते हुलाकी राजमार्ग निर्देशनालयले सम्झौता गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update