Hamro Patra
आत्मकथा बेच्दै टीकापुर पुगे महाबिर

टीकापुर, फागुन ९
आफ्नो आत्मकथा बेच्दै हिँडेका वैज्ञानिक महाबिर पुन टीकापुर पुगेका छन । उनले सम्झना, सपना र अविरल यात्रा नामक आत्मकथा बेचेर आम्दानी भएको रकमले बिरगञ्जस्थित राष्ट्रिय आविष्कार केन्द्र पुनःसञ्चालन गर्ने उद्देश्य बोकेर अभियान थालेका छन ।

उनले ४५ दिन अघि आत्मकथा बेच्ने अभियान सुरु गरेका थिए । उनीसँगै अभियानमा रहेका राष्ट्रिय आविष्कार केन्द्रका मेकानिकल इन्जिनियर प्रज्वल फोजुले हालसम्म ४४ हजार प्रति आत्मकथा बिक्री भएको जानकारी दिए । उनले अभियानका क्रममा मात्रै १७ हजार प्रति बिक्री भएको बताए ।

Khadga Memorial And Janajagriti

पुनले आज बिहानै देखी टीकापुरका विभिन्न संघसंस्था र सार्वजनिक स्थलमा आत्मकथा बेचिरहेका छन । उनी हाते माइक बोकेर बिहानै सडकमा निस्किएका थिए । उनले आम सर्वसाधारणलाई आफ्नो आत्मकथा किनेर सहयोग गरिदिन माइकिङ गर्छन ।

उनको आग्रहलाई स्विकार्दै आत्मकथा किन्नेको भिड लाग्ने गरेको छ । बीरेन्द्र विद्या मन्दिर क्याम्पसका स्ववियु सभापति नविन अधिकारी लगायतका युवाहरु पुनको अभियानलाई साथ दिईरहेका छन । पुनलाई विभिन्न संघसंस्थाले सम्मान समेत गरेका छन ।

पूर्वबाट मध्य पहाडी लोकमार्ग हुँदै पश्चिम लागेका पुन सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा अभियान सकेर हिजो साँझ टीकापुर पुगेका हुन । उनी टीकापुरबाट लुम्बिनी प्रदेशको बर्दिया तर्फ लाग्ने बताईएको छ ।

उनको अभियान अब पश्चिमबाट पूर्वतर्फ हिँड्ने छ । केन्द्रका मेकानिकल इन्जिनियर फोजुले अबको अभियान पूर्वपश्चिम राजमार्गसँग जोडिएका जिल्लामा केन्द्रित रहने बताए । उनले अभियान अहिलेसम्म २३ वटा जिल्लामा पुगेको जानकारी दिए । उनका अनुसार अभियान देशका सबै जिल्लामा पुग्नेछ । अभियानमा पुन र फोजु मात्रै छन ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update