टीकापुर, फागुन ८
टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर विष्टको नुवाकोट सरुवा भएको छ ।
पालिकामै रहेका शिक्षा उपसचिवलाई साइड लगाउँदै प्रमुख प्रशासकीय अधिकृत बनेका अधिकृत विष्टको नुवाकोटको लिखु गाउँपालिकामा सरुवा भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विष्टलाई लिखु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको हो । योसँगै विष्टले दुई टीकापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिृकतका कार्य गरेका थिए ।
विष्टले नगरपालिकामा कार्यरत उपसचिव (शिक्षा) दशौं तहलाई समेत आफ्नो मातहतमा काम गराएका थिए । यसअघि पटक पटक प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका दमनसिंह चौधरीले विष्टको मातहतमा काम गर्नु पर्ने भएको हो ।
कार्यकारी अधिकृत विष्टको सरुवा भए पनि टीकापुरमा को आउने भन्ने विषय अझै टुंगोमा नपुगेको समाचार श्रोतले जनाएको छ । विष्ट गत भदौ ३१ गते टीकापुरमा हाजिर भएका थिए ।
टीकापुर रहँदा कार्यकारी विष्टले मनोमानी ढंगले कार्यपालिकाको बैठकमा निणर्य गर्ने, चर्को भाडामा निजी गाडी चढ्ने र ऐन विपरीत १८ जना कर्मचारी भर्ना गर्ने जस्ता विवादित निणर्य गरेका थिए ।