टीकापुर, फागुन ७
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुशासनसहितको व्यवस्था स्थापित गर्नका लागि प्रदेश सरकार लागि परेको बताएका छन् ।
७४औं राष्टिय प्रजातन्त्र दिवसको अवसरमा धनगढीमा आयोजित प्रदेशस्तरीय मूल समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन् ।
‘यही व्यवस्थालाई सुदृढ गर्दै नागरिकको जीवनशैली उकास्न जस्तोसुकै मुल्य चुकाउन हामी तयार छौं’ मुख्यमन्त्री शाहले भने ‘जनताले अपेक्षा गरे अनुसार परिवर्तन तत्कालै नहुन सक्छ, विभिन्न समस्याहरु छन् तर पनि प्रदेश सरकार प्रयासरत रहेको छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले प्रजातन्त्र दिवसले सार्वभौमसत्ता जनतामा निहित छ भन्ने कुराको पुष्टि गरेको दिनका रुपमा लिनुपर्ने बताए ।
‘यही व्यवस्थालाई बलियो र जनमुखी बनाएर नागरिकको जीवनशैलीको रुपमा स्थापित गर्नुपर्छ’ मुख्यमन्त्री शाहले भने ‘यसका लागि तीनै तहबिच सम्बन्ध स्थापित गर्न प्रदेश लागिरहेको छ ।’
मुख्यमन्त्री शाहले लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाएर आर्थिक सम्वृद्धि गर्न प्रजातन्त्र दिवसले प्रेरणा दिने बताए ।