Hamro Patra
लम्की सांगीतिक महोत्सव सुरु, मेयर बजगाईद्वारा उद्घाटन


लम्की, मंसिर १२
रेडियो पश्चिम आवाजको आयोजनामा आजदेखी लम्की सांगीतिक महोत्सव तथा
ब्यापार मेला सुरु भएको छ । मंसिर २१ गतेसम्म चल्ने महोत्सवको एक समारोहकाबीच लम्की चुहा नगरपालिकाका मेयर महादेव बजगाईले उद्घाटन गरेका छन ।

महोत्सवको उद्घाटन समारोहमा बोल्दै मेयर बजगाईले विकास निर्माणमा सबैको हातेमालो आवश्यक रहने बताए । उनले आस्था र सिद्धान्त आफ्नो ठाउँमा फरक भएपनि विकासमा एक हुनुपर्नेमा जोड दिए ।

उनले जनताले तिरेको करको दुरुपयोग नगरेको बताउँदै यदि त्यस्तो गरेको कसैलाई शंका भए बसेर छलफल गर्न तयार रहेको बताए । ‘जनताको कर दुरुपयोग गरेको छैन । यदि कसैलाई त्यस्तो लाग्छ भने आउनुस् बसेर छलफल गरौं ।’

Khadga Memorial And Janajagriti

उनले आगामी एक वर्षभित्र सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गर्ने लक्ष्य रहेको बताए । उनले १५ शैयाको अस्पताल उद्घाटनका क्रममा रहेको जानकारी दिँदै आफ्नो कार्यकाल भित्र ५० शैयाको अस्पताल सञ्चालन गरेर छोड्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले आफू जनताका माझमा खाएका सबै बाचा कसम पूरा गर्न प्रयत्नरत रहेको बताउँदै सबै नगरबासीको साथ र सहयोगको आग्रह गरे ।

कार्यक्रममा वडाध्यक्षद्वय भक्त चलाउने, जानकी बिष्ट, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावल, लम्की बहुमुखी क्याम्पसका अध्यक्ष बखत बिष्ट, लम्की उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पदम चौलागाईका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले समेत बोलेका थिए ।

रेडियो सञ्चालक समितिका अध्यक्ष बिपि खनालको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सञ्चालक समिति सदस्य दीपक तिमिल्सिनाले स्वागत गरेका थिए ।

महोत्सवमा विविध साँस्कृतिक कार्यक्रम प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादन समेत राखिएका छन । महोत्सवको आम्दानीले सामुदायिक रेडियोले भवन निर्माण गर्ने लक्ष्य राखेको छ । रेडियोले गतवर्ष समेत महोत्सव आयोजना गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update