टीकापुर, माघ २७
सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारले आज पत्रकार सम्मेलन गरेर आफ्नो एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो ।
विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेश सरकारको मुख्य प्राथमिकतामा ऊर्जा क्षेत्र रहेको बताए । ‘ऊर्जा क्षेत्र प्रदेश सरकारको विशेष प्राथकितमा रहेको छ’ मुख्यमन्त्री शाहले भने ‘यद्यपि, नीतिगत सुधार, बेरुजु घटाउने गरी वित्तीय व्यवस्थापन, कृषि तथा पशुपन्छी विकास लगायतको कार्यमा अगाडि बढिरहेका छौं ।’
राजनीतिक एवम् प्रशासनिक सहकार्य तथा समन्वयको दृष्टिकोणबाट सरकारको एक वर्षको कार्यकाल सुखद् रूपमा बितेको मुख्यमन्त्री शाहले दाबी गरे ।
कठिन भूगोल, गरिबी, बेरोजगारी तथा शिक्षा र स्वास्थ्य सेवामा समस्या, उद्यमशीलता, भौतिक पूर्वाधार विकासको कमी, सीमित स्रोत साधन लगायतका कारणले प्रदेश सरकार जनताको अपेक्षामा खरो रूपमा उत्रिन नसकेको मुख्यमन्त्रीको स्वीकार थियो ।
एक वर्षको अवधिमा प्रदेश सभाबाट दुई वटा विधेयक पारित भएका छन् । यसैगरी, तीन वटा विधेयक सभामा पेस भएका छन् भने दुई वटा विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको सम्मेलनमा जानकारी दिइयो ।
सरकारले यो अवधिमा तीन वटा नियमावली, आठ वटा कार्यविधि र तीन वटा मापदण्ड बनाएको छ । एक वर्षको अवधिमा एक हजार ६०९ हेक्टर क्षेत्रफलमा वर्षैभरी सुविधा हुने गरी सिँचाइ उपलब्ध गराइएको छ ।
यस्तै, १०८.१९ किलोमिटर कालोपत्रे सडक, १२२.९७ किलोमिटर माटे, १८५.९० किलोमिटर ग्राबेल सडक निर्माण भएको जनाइएको छ । यो अवधिमा सरकारले नौ वटा सडकपुल निर्माण गरेको छ ।
यसैगरी, ५२० वटा इन्टेक, ५६३ पानी पोखरी निर्माण, दुई हजार ५०५ किलोमिटर पाइपलाइन जडान गरेको जनाइएको छ । ८२ हजार ७०२ जनालाई आधारभूत खानेपानी सेवा, १८ हजार ६०० जनालाई मध्यमस्तरको खानेपानी सेवा उपलब्ध गराइएको छ ।
२०७.५६ किलोमिटर नहर, ५२.२१ किलोमिटर तटबन्ध, २ वटा सौर्य ऊर्जा निर्माण र सात हजार ३४५ हेक्टर क्षेत्रमा सिँचाइ मर्मत भएको जनाइएको छ ।
सहरी विकास तथा भवन निर्माणतर्फ सरकारी सामुदायिक भवन एक वटा, जनता आवास योजना ४४ वटा, एकीकृत नमुना बस्ती चार वटा निर्माण गरिएको छ । एक वर्षको अवधिमा ३२ वटा योजना सम्पन्न भएको प्रदेश सरकारले जनाएको छ ।
चालु आर्थिक वर्षमा बजेट खर्चको प्रगति र राजस्व सङ्कलनको हकमा प्रदेश सरकार ठिक ठाउँमा रहेको आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले बताए ।
‘माघ २६ गतेसम्म चालु खर्च २५.२९ प्रतिशत, पुँजीगत खर्च १४.५६ प्रतिशत गरी कुल खर्च १८.९८ प्रतिशत पुगेको छ । माघ महिनाभित्र बजेट खर्च प्रगति १९ प्रतिशत पुग्ने देखिन्छ’ मन्त्री शाहीले भने ‘चालु आर्थिक वर्षको हालसम्म प्रदेश सरकारले ६४ करोड राजस्व सङ्कलन गरेको छ । गतवर्ष यही अवधिसम्म प्रदेशमा ५१ करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो ।’
गठन भएको एक वर्षका प्रगति विवरण आज सार्वजनिक गरिएको हो ।