Hamro Patra
विद्यार्थी अभावमा क्याम्पस बन्द

योगेश रावल
टीकापुर, मंसिर १२
टीकापुर नगरपालिका–७ सत्तीस्थित कर्णाली बहुमुखी क्याम्पस विद्यार्थी अभावमा बन्द भएको छ ।

२०७० साल असोजमा व्यवस्थापन संकाय अन्र्तगत बिबिएस कार्यक्रम सञ्चालन गर्न अनुमति पाएको क्याम्पस तेस्रो शैक्षिक सत्र पश्चात पूर्ण रुपमा बन्द भएको हो । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको मिति २०७० असोज ४ गतेको निर्णय अनुसार क्याम्पसले अस्थायी सम्बन्धन प्राप्त गरेको थियो ।

क्याम्पस सञ्चालन गर्न आवश्यक विद्यार्थी संख्या अपुग भएपछि बन्द भएको तत्कालिन क्याम्पस प्रमुख रविन्द्र कठायतले जानकारी दिए । उनका अनुसार पहिलो वर्ष ७ जना विद्यार्थी मात्रै भर्ना भएका थिए । उनले दोस्रो र तेस्रो वर्ष समेत विद्यार्थी भर्ना संख्या ज्यादै न्यून भएकाले क्याम्पस सञ्चालन गर्न समस्या भएको बताए ।

Khadga Memorial And Janajagriti

‘तीन वर्ष लगातार क्याम्पस सञ्चालन भएपनि विद्यार्थी संख्या १०/११ जना भन्दा माथि पुग्न सकेन’ उनले भने–‘विद्यार्थी नै नभएपछि वाध्य भएर क्याम्पस भर्ना रोक्नु प¥यो ।’

क्याम्पस आसपासका कर्णाली मावि सत्ती र त्रिभुवन मावि बटनपुरमा सञ्चालित प्लस टु कार्यक्रममा व्यवस्थापन विषय पढ्ने विद्यार्थीको संख्या कम भएका कारण क्याम्पसले आवश्यक विद्यार्थी संख्या पाउन नसकेको क्याम्पस प्रमुख कठायतको भनाई छ । उनले प्लस टु कार्यक्रममा व्यवस्थापन विषय पढेर उत्तीर्ण भएका विद्यार्थी समेत अन्यत्र गएको बताए ।

‘हामीसँग प्लस टु कार्यक्रममै व्यवस्थापन विषयका विद्यार्थी कम हुन’ उनले भने–‘उत्तीर्ण भएकाहरु समेत उच्च शिक्षाका लागि अन्यत्र गएपछि समस्या भयो ।’

क्याम्पस स्थापना भएपछि प्लस टु कार्यक्रममा कार्यरत प्राध्यापकहरुले अध्यापन कार्यमा सहयोग गरेका थिए । तर विद्यार्थीको संख्या बढ्न नसकेपछि उनीहरुले समेत सहयोग गर्न छोडे । तत्कालिन क्याम्पस प्रमुख कठायत समेत हाल त्रिभुवन मावि बटनपुरको प्रधानाध्यापक छन । उनी चार वर्षका लागि २०७० मा क्याम्पस प्रमुख नियुक्त भएका थिए । उनले उत्तीर्ण हुन नसकेका विद्यार्थीहरुको प्रशासनिक काम भने आफूले नै गर्दै आईरहेको बताए ।

क्याम्पसको पठनपाठनका लागि स्थानीय कर्णाली माविले भवनका साथै अन्य आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराएको थियो । तीन वर्षसम्म क्याम्पसको पठनपाठन सोही विद्यालयको भवनमा सञ्चालन भएको प्रधानाध्यापक जेबी शाहले जानकारी दिए । स्थानीयले क्याम्पस सञ्चालनका लागि सुरुमै शिक्षा संकायको माग गरेका थिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यज्ञ न्यौपानेले विश्वविद्यालयले शिक्षा संकायको अनुमति दिन ढिलाई गरेपछि व्यवस्थापन संकाय सञ्चालन गर्नुपरेको बताए ।

उनले शिक्षा संकाय सञ्चालनका लागि पछिल्लो पटक २०७४ मा समेत विश्वविद्यालयमा निवेदन पेश गरेको जानकारी दिए । ‘शिक्षा संकायको अनुमति पायौं भने क्याम्पस पुनः सञ्चालन हुनसक्छ’ उनले भने–‘हामी क्याम्पस पुनः सञ्चालन गर्न प्रयासरत छौं ।’

क्याम्पस स्थापना भएपछि खुशी भएका त्यस क्षेत्रका बासिन्दा यतिबेला भने निरास भएका छन । उनीहरुको छोराछोरीले घरआँगनमै उच्च शिक्षा प्राप्त गर्ने सपना टुटेको छ । क्याम्पस बन्द भएपछि त्यस क्षेत्रका विद्यार्थीहरु स्नातक तहको अध्ययनका लागि अन्यत्र जान वाध्य छन । उनीहरुले टीकापुरस्थित क्याम्पसमा पुग्नुपर्ने वाध्यता सृजना भएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update