Hamro Patra
बेल्जियम एनआरएनको आर्थिक सहयोग

टीकापुर, माघ २४
बेल्जियममा बस्दै आएका गैर आवासीय नेपालीले इजरायल घटनामा ज्यान गुमाएका विद्यार्थीहरुका परिवारलाई आर्थिक सहयोग गरेका छन ।

उनीहरुले घटनामा ज्यान गुमाएका दश जनाका परिवारलाई प्रति परिवार ५० हजारका दरले ५ लाख आर्थिक सहयोग गरेका छन । सुदूरपश्चिम विश्व विद्यालय कृषि संकायका डिन डा. विष्णु बिलास अधिकारीले एक कार्यक्रमकाबीच सहयोग रकम प्रदान गरेका छन ।

रकम प्रदान गर्दै डिन अधिकारीले बेल्जियममा बस्दै आएका नेपालीहरुलाई आर्थिक सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन । उनले परदेशमा बसेर दुःखमा सम्झिएकोमा आभार व्यक्त गरे ।

CMA Staff

उनले आर्थिक सहयोग रकमले मृतक विद्यार्थीहरुका परिवारलाई थोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन ।

उनले ज्यान गुमाएका मध्ये कैलालीको घोडाघोडी नगरपालिकाका नारायण प्रसाद न्यौपाने र जोशीपुर गाउँपालिकाका आशिष चौधरीका आफन्तलाई रकम प्रदान गरेका छन । न्यौपानेका बुवा हरिकृष्ण न्यौपाने र चौधरीका बुवा बेझुलाल डगौराले रकम बुझेका छन । अन्य विद्यार्थीहरुका परिवारलाई बैंक मार्फत रकम प्रदान गरिएको छ । उनीहरुलाई आउन जान समस्या हुने भएकाले बैंक मार्फत नै रकम प्रदान गरिएको छ ।

‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्र्तगत इजरायल गएका टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका दश जना विद्यार्थीको हमासको आक्रमणमा परेर असोज २० गते ज्यान गएको थियो ।

ज्यान जानेमा कैलालीका न्यौपाने र चौधरी सहित बझाङका गणेशकुमार नेपाली, डोटीका पदम थापा, डोटीकै राजन फूलारा, दार्चुलाका लोकेन्द्रसिँह धामी, दार्चुलाकै दिपेशराज बिष्ट, सल्यानका प्रवेश भण्डारी, सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द साह रहेका छन ।

सोही कार्यक्रममा उनीहरु सहित विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका थिए । ती मध्ये कञ्चनपुरका विपिन जोशी अहिलेसम्म बेपत्ता छन ।

 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update