टीकापुर, माघ २६
२६ वर्ष अघि टीकापुरमा सामान्य खाजा घरबाट सुरू भएको सिद्धार्थ होटल हाल लक्जरी रिसोर्ट, पाँच तारे होटल र विभिन्न स्ट्याण्डर्डका होटल तथा क्याफे सञ्चालन गर्दै सिद्धार्थ हस्पिटालिटी २६ औ वर्षमा प्रवेश गरेको छ ।
आफ्नै लगानीका होटलको सञ्चालन तथा विभिन्न व्यक्तिले निर्माण गरेको होटल व्यवस्थापन समेत गर्दै आएको हस्पिटालिटी ग्रुपले क्याफे, कटेज, बुटिक होटल, तारे होटल तथा लक्जरी रिसोर्ट गरी करिब तीन दर्जन आउटलेट सञ्चालन गरिरहेको छ ।
पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको हस्पिटालिटीले २ हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी दिँदै आएको छ ।
सिद्धार्थ हस्पिटालिटीले वार्षिकोत्सवलाई लक्षित गरी विभिन्न आउटलेटमा खाना तथा बसाइमा १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको घोषणा गरेको छ ।
हरेक वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम गर्दै आएको यस हस्पिटालिटीले २६ औं वार्षिकोत्सवको अवसरमा पनि यस्तो कामहरू गरेको छ ।
हस्पिटालिटीको सामाजिक उत्तरदायित्व सम्बन्धी काम गर्ने संस्था सिद्धार्थ एसोसियसन फर केयर एण्ड रेस्पोन्सिबिलिटी ‘साकार’ मार्फत यस्तो कार्यक्रम आयोजना गरिएको हो ।
वार्षिकोत्सवको एक साता आफ्ना सबै आउटलेटमार्फत रक्तदान, सरसफाइ, अनाथलयहरूमा खाना वितरण तथा विद्यालयलाई शिक्षण सामाग्री र विद्यार्थीलाई लत्ताकपडा सहित आवश्यक सामाग्री वितरण गरिएको हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्ण न्यौपानेले जानकारी दिए ।
सामाजिक उत्तरदायित्वलाई मुल मर्मका साथ अगाडि बढेको हस्पिटालिटीले सरसफाइ, विद्यार्थीहरूका लागि आवश्यक शैैक्षिक सामाग्री तथा स्कुल ड्रेस, स्कुल ब्याग लगायतका सामाग्रीहरू प्रदान गरेको छ ।
हस्पिटालिटीको कैलाली, चुम्लिङटार, सुर्खेत, नेपालगञ्ज, काठमाडौं लगायत देशभर फैलिएका आउटलेटहरूमार्फत सामाजिक उत्तरदायित्वको कार्यक्रम गरिएको हो ।
वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा हस्पिटालिटीका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपानेले हाल देशमा देखिएको राजनैतिक र सामाजिक अस्थिरताको कारण विगत देखी आर्थिक मन्दीको असर पर्दा पनि होटलले नाफा कमाउनु निकै नै उपलब्धीमुलक रहेको बताए ।
उनले भने,‘यो गुणस्तर युक्त आर्थिक रुपमा सक्षम र व्यवस्थित हस्पिटालिटी कम्पनीलाई अगाडि बढाइरहेका छौं भन्ने उदाहरण पनि हो ।’
सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्य अनुरुप सिद्धार्थ हस्पिटालिटीले साकार नामको सामाजिक मुनाफा रहित संस्था सञ्चालनमा रहेको छ । जसको माध्यमबाट असहाय, विपन्न, दीन-दुःखीहरुको पहिचान गरी कुनै विशेष अवसर जुटाई समय-समयमा सहयोग गर्दै आएको छ ।
यस वर्ष साकारमार्फत हस्पिटालिटीले क्यान्सर पिडित र मृगौला पिडितलाई आर्थिक सहयोग गरेको थियो ।
यता टीकापुरस्थित होटल सिद्धार्थ टीकापुरले वार्षिकोत्सवको अवसरमा कर्णालेश्वर आधारभूत विद्यालयका १५ जना विद्यार्थीलाई झोला, विद्यालय, पोशाक, कापी र पेन्सिल वितरण गरेको छ ।
जेहनदार गरिब तथा असहाय विद्यार्थीहरूलाई शैक्षिक सामग्री र पोशाक वितरण गरिएको होटलका प्रबन्धक छत्र बोगटीले जानकारी दिए ।
यस्तै रुकुम र जाजरकोटमा गएको भूकम्पका पिडितहरुमा राहत स्वरुप ५ लाख रुपैयाँको सामाग्री सहयोग गरिएको हस्पिटालिटीले जनाएको छ ।