टीकापुर, माघ २२
टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा गत पौष २७ गतेदेखि माघ १० गतेसम्म सञ्चालन भएको टीकापुर महोत्सव २०८० को आयव्यय सार्वजनिक गरिएको छ ।
संघले महोत्सवमा भएको आम्दानी तथा खर्चको विवरण आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको विवरणमा आम्दानीतर्फ टाइटल, मुख्य प्रायोजकबाट ६० हजार, अफिसियल बैंक, सहयोगी, स्टल तथा पार्किङबाट ११ लाख ७४ हजार ६५०, बालउद्यान रमाइलो मेलाबाट ८ लाख २५ हजार रुपैयाँ आम्दानी देखिन्छ ।
त्यस्तै ब्यानर, सिजनल टिकट, महोत्सव परिसर र नृत्य गरी ६ लाख ७४ हजार र टिकट बिक्रीबाट ६६ लाख ७९ हजार ६५० रुपैयाँ आम्दानी भएको छ भने आयोजक, प्रायोजक, ब्यानरबाट उठ्न बाँकी २७ लाख ५० हजार रुपैयाँ रहेको छ ।
संघले महोत्सवलाई दिनुपर्नेमा ८८ हजार ६ शय ९५ रुपैयाँ गरी महोत्सवमा कुल १ करोड २२ लाख ५१ हजार ९९५ रुपैयाँको कारोबार भएको छ । त्यस्तै खर्चतर्फ मसलन्द छपाई ४८ हजार ९४२, सञ्चार तथा विज्ञापन पत्रपत्रिका १ लाख ४० हजार ६ शय, टेण्ड साउण्डमा ८ लाख २७ हजार २ शय ७२ रुपैयाँ खर्च भएको छ ।
त्यस्तै टिकट बिक्री, ज्याला र मनोरञ्जन करमा ५ लाख ३४ हजार ३७२, यातायात, इन्धन, परिसर, मञ्च श्रृंगार, प्रोत्साहन खाजा खर्च आदि ८ लाख ८१ हजार ५७३, अतिथि भोजन ४ लाख ९० हजार १३०, बाद्यबाधन ज्याला, कृषि प्रदर्शनी, लेखा परीक्षण, दैनिक ज्याला, पुरस्कार, थारुगाउँ निर्माण तथा डकुमेन्टी ३ लाख ५१ हजार ८७० रुपैयाँ खर्च भएको छ ।
संघले जारी गरेको विवरणमा पेश्की २४ लाख ३७ हजार ३६१, दिनुपर्ने हिसाबमा २५ लाख ९४ हजार ४६९ रुपैयाँ रहेको छ । महोत्सवबाट संघले ३९ लाख २५ हजार ४०६ रुपैयाँ बचत गरेको देखिन्छ ।
पेश्की रकममा कलाकारको पारिश्रमिक लगायतका खर्चहरु रहेको पेश्की फछ्र्यौटको चरणमा रहेको संघका वरिष्ठ उपाध्यक्ष एवं महोत्सव तयारी तथा व्यवस्थापन समितिका संयोजक सन्तोष खड्काले जानकारी दिए ।
संघले पूर्व घोषणा अनुसार टीकापुर महोत्सवको आयव्यय सार्वजनिक गरेको संघका अध्यक्ष चक्रपाणि सापकोटाले बताए । महोत्सवलाई सफल पार्न सबैको सहयोग पुगेको बताउँदै संघका महासचिव नवराज रिमालले संघले आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेको बताए ।
उक्त रकम मध्ये केही रकम विगतका वर्षहरु जस्तै सामाजिक क्षेत्रमा खर्च गरिने संघको कोषाध्यक्ष लोकेश साउँदले बताए ।