एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी, माघ १९
आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नेकपा (एमाले) कैलालीको नवौं जिल्ला अधिवेशनका लागि लागो र नारा सार्वजनिक गरिएको छ । धनगढीमा आज पत्रकार सम्मेलन गरी पार्टीको लोगो र नारा सार्वजनिक गरिएको हो ।
पोलिटब्युरो सदस्य तथा कैलाली इञ्चार्ज गणेशसिंह ठगुन्ना लगायत पार्टी कमिटीका पदाधिकारीले आज लोगो र अधिवेशनको नारा सार्वजनिक गरे । नवौं अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने र सो अधिवेशनले २०८४ को चुनावमा कैलाली जिल्लालाई एमाले किल्ला बनाउने गरेर सन्देश दिने बताए ।
पूर्व संघीयमन्त्री समेत रहेका नेता ठगुन्नाले एमालेको सरकारका बेला सञ्चालिन रणनीतिक सडक, अस्पताल र औद्योगिक क्षेत्रका काम अहिलेको सरकारले रोकेको आरोप लगाए ।
एमाले कैलालीका कार्यवहाक अध्यक्ष दुर्गाप्रसाद जोशीले ‘पालिका, सङ्घ, प्रदेश कैलालीः जिल्ला एमालेको बनाउ किल्ला’ भन्ने नाराका साथ हुन लागेको जिल्ला अधिवेशनमा १५० सदस्यीय कमिटी बनाउन ५६० जना प्रतिनिधि सहभागी हुने बताए ।
उनले अधिवेशन ६ र ७ गते हुने भए पनि अधिवेशन ठिक तरिकाले सञ्चालन गर्न फागुन ३ गते नै इच्छुकहरुलाई विभिन्न पदमा मनोनयन गर्ने समय दिएर नयाँ अभ्यास गर्न लागिएको बताए । उनका अनुसार थारु, दलित र महिलालाई धेरै भन्दा धेरै समट्ने गरेर प्रतिनिधि छनोटको मापदण्ड बनाइएको छ ।
एमालेले अधिवेशनको उद्घाटन समारोहमा धेरै भन्दा धेरै जनताको उपस्थिति गराउन कैलालीका घरघरमा निमन्त्रणा कार्ड पठाउने तयारी गरेको जिल्ला सचिव डेजी पाण्डेले बताए ।
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८० २१:०२
प्रतिक्रिया दिनुहोस्