तेस्रो मुख्यमन्त्री कप: गण्डकी र एपीएफ फाइनलमा
कञ्चनपुर, माघ १९
कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एपीएफ टिम फाइनलमा प्रवेश गरेका छन् ।
सेमिफाइनलमा गण्डकीले नेपाल पुलिस क्लबलाई र एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् । फाइनल खेल शनिबार हुनेछ ।
आजको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशले पुलिस क्लबलाई ३-२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । प्रतिस्पर्धात्मक खेलमा गण्डकीले २०-२५, २५-१५, १९-२५, ३१-२९ र १५-७ ले पराजित गरेको हो । गण्डकीका विशाल सोनारी म्यान अफ द म्याच घोषित भए ।
दोस्रो सेमिफाइनलमा एपीएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३-२ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । एपीएफले २५-२०, १४-२५, ३०-२८, १४-२५ र १५-१३ ले पराजित गरेको हो । एपीएफका विजय थापा म्यान अफ द म्याच घोषित भए ।
माघ १४ देखि शुरु भएको प्रतियोगितामा ३ विभागीय र ७ प्रदेशका गरी १० टीमको सहभागिता थियो । सुदूरपश्चिम खेलकुद विकास समितिको आयोजना र जिल्ला भलिबल संघको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको विजेता टिमले ४ लाख, उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउनेछ । चौथो हुने टिमले ५० हजार रुपैयाँ पाउनेछ । प्रतियोगिताका अघिल्ला दुई संस्करण धनगढीमा सम्पन्न भएका थिए ।
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८० २०:०२
प्रतिक्रिया दिनुहोस्