Hamro Patra
स्वास्थ्य सेवा र भौतिक पूर्वाधार विकासमा जोड–अध्यक्ष रावल

टीकापुर, मंसिर १०
टीकापुर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष दीपक रावलले अस्पतालको स्वास्थ्य सेवा र भौतिक पूर्वाधार विकासमा जोड दिने बताएका छन ।

उनले सञ्चारकर्मीसँग कुरा गर्दै अस्पताल विकास समितिको अध्यक्ष आफ्नो राजनीतिक जीवनको मजबुत जग हुने बताए । उनले अस्पताल सुधारका निम्ति कुनै कसर बाँकी नराखेर काम गर्न तयार रहेको बताए ।

‘म काम गर्न आएको हुँ । म अस्पताल राम्रो बनाउने क्रममा कसैसँग सम्झौता गर्ने छैन’ उनले भने–‘म काम गरेरै मेरो राजनीतिक जीवनको जग मजबुत बनाउन चाहन्छु ।’

Khadga Memorial And Janajagriti

उनले पदभार ग्रहण गरेसँगै टीकापुर नगरपालिका भित्रका आमाबुबा गुमाएका अनाथ बालबालिकाको निशुल्क उपचारको व्यवस्था गरिने घोषणा गरे । उनले आफ्नो वडामा आमाबुबा नभएका बालबालिकाको विस्तृत विवरण माग गर्दै पदभार ग्रहण गरेको भोलिपल्ट अर्थात् मंगलबार (आजै) सबै वडा कार्यालयलाई पत्राचार गरेको जानकारी दिए ।

उनले वडा कार्यालयको सिफारिस अनुसार त्यस्ता बालबालिकाको निशुल्क औषपोचार हुने बताए ।

उनले मंगलवार (आजै) एम्बुलेन्सका लागि भारतीय दुताबासमा समेत पत्राचार गरेका छन । दुताबासले विभिन्न अस्पताल र संघसंस्थाहरुलाई एम्बुलेन्स वितरण गर्ने तयारी गरेको छ ।

उनले अस्पतालमा बिरामीले नाम दर्ता गर्न निकै समस्या भोग्नु परेको समस्यालाई पहिलो प्राथमिकतामा राखेर त्यसको समाधानका लागि पहल भैसकेको बताए । उनले बीमा गरेका र नगरेकाहरुका लागि छुट्टाछुट्टै नाम दर्ता गर्ने व्यवस्था मिलाउन थप जनशक्ति र कम्प्युटरको व्यवस्था गर्न लागेको जानकारी दिए ।

उनले अस्पताल हाता भित्रको फोहोरमैला व्यवस्थापन, शौचालय सरसफाई, अव्यवस्थित पार्किङ लगायतका काम सुधारको प्रयास सुरु गरिसकेको बताए ।

उनले दक्ष मेसु सहित पूर्ण दरबन्दी अनुसारका चिकित्सक, अन्य स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापनका लागि प्रदेश र संघीय सरकारसँग छलफल सुरु गरिसकेको बताए । उनले मंगलवार (आजै) जनप्रतिनिधिहरुको एक टोलीले स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग अस्पतालको समस्याका बारेमा अवगत गराएको जानकारी दिए ।

उनले यसैवर्ष ‘डाक्टर क्वाटर’ र ‘सपिङ कम्प्लेक्स’ निर्माणको काम समेत सुरु गर्ने सोच रहेको बताए । उनले केही वर्ष अघि नै अस्पतालमा निर्माण गर्ने भनिएको ‘डाक्टर क्वाटर’ धनगढीस्थित डिभिजन कार्यालयले रोकेर राखेको भन्ने जानकारीमा आएको बताए ।

‘यस्तो कुरा सुन्नमा आएको छ । कति सत्य हो । यो बारेमा मैले बुझ्न सुरु गरिसकेको छुँ’ उनले भने–‘यदि साँचो हो भने निर्माणका लागि के गर्न पर्छ पहल गर्छु ।’

उनले अस्पताल सुधारका लागि चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुसँग राय सुझाव संकलन गरिरहेको जानकारी दिए । उनले सोही क्रममा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई अस्पताल सुधार अभियानमा साथ दिन आग्रह गरेका छन । ‘म एक्लैले गर्ने हैन । सबैले सहयोग ग¥यो भने मात्रै सुधार सम्भव छ’ उनले भने–‘सबैसँग यही आग्रह गरिरहेको छुँ ।’

उनले केही दिन भित्रै जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, संघसंस्था लगायतसँग अस्पताल सुधारका लागि राय सुझाव लिने बताए । उनले केही दिन भित्रै सुधारका संकेत देखिने गरी काम सुरु गरेको बताएका छन ।

कर्मचारी समायोजनका कारण लामो समय मेसु रहेका डा. नरेन्द्र खनाल लगायतका धेरै चिकित्सक अन्यत्र गएका छन । जसका कारण अस्पतालको स्वास्थ्य सेवा प्रभावित बनेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update