टीकापुर, माघ १७
राष्टिय गौरबको रानी, जमरा, कुलरिया सिँचाइ आयोजना अन्तर्गत कैलालीको कटासेमा निर्मित विद्युत गृहबाट उत्पादित विद्युत राष्टिय प्रसारण लाइनमा जोडिएको छ ।
आयोजनाले जानकी गाउँपालिका वडा नं. ९ स्थित कटासेमा निर्माण गरेको विद्युत गृहबाट उत्पादित ४.७१ मेगावाट विद्युत राष्टिय प्रसारण लाइनमा जोडिएको हो ।
पावर हाउसबाट उत्पादित विद्युत लम्कीस्थित प्रसारण केन्द्रबाट राष्टिय प्रसारण लाइनमा जोडिएको हो ।
विगतका वर्षदेखि पूर्वी कैलालीमा बाह््रै महिना सिँचाइ सुविधा पुर्याउने उद्देश्यले शुरु गरिएको आयोजनाले पाँच वर्षदेखि विद्युत उत्पादनका लागि निर्माण थालेको थियो ।
गत महिना विद्युत उत्पादन परीक्षण गरिएकोमा अन्य पूर्वाधार तयार गरेर मंगलबारदेखि राष्टिय प्रसारण लाइनमा विद्युत जोडिएको आयोजनाका इञ्जिनियर वीरसिंह धामीले बताए ।
'विद्युत उत्पादन एक महिना अगाडि नै परीक्षण गरिएको भए पनि केही प्राविधिक काम बाँकी रहेको थियो’ विद्युत उत्पादनको काम हेरिरहेका इञ्जिनियर धामीले भने 'मंगलबारदेखि पावर हाउसबाट उत्पादित विद्युत लम्कीस्थित प्रसारण केन्द्रबाट राष्टिय ग्रिडमा जडान गरेका छौं ।’
कणर्ाली नदीको चिसापानीबाट मुख्य इन्टेकमार्फत् रानी, जमरा, कुलरिया सिँचाइ आयोजनामा बग्ने नहरबाट विद्युत उत्पादन हुने हुँदा एकनाशको विद्युत हुने उत्पादन हुने आयोजनाले जनाएको छ ।
'पश्चिमको महेन्द्रनगरदेखि लमहीसम्मको एउटा मात्रै पावर हाउस हो, सिँचाइको नहरबाट विद्युत उत्पादन हुने हुनाले यो नियमित एकनाशको उत्पादना हुन्छ’ इञ्जिनियर धामीले भने 'आयोजना र यो क्षेत्रबासीका लागि यो निकै गौरबको क्षण हो, हामीले वार्षिक ४२ गिगावाट विद्युत ऊर्जा उत्पादन हुने अनुमान गरेका छौं ।’
आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर टोपबहादुर खत्रीले गत मङ्सिर अन्तिमदेखि विद्युत् उत्पादन शुरु गरिएको बताए । तराई क्षेत्रको सिँचाइ आयोजना भए पनि परियोजनामा बिजुली समेत उत्पादन भएपछि स्थानीयहरु दंग छन् ।
'तराई क्षेत्रमा पनि आठ मिटर बराबरको हेड (उचाइ) प्राप्त भएपछि बिजुली उत्पादन गर्न सकिन्छ भन्ने कुरा प्रमाणित भएको छ’ इञ्जिनियर खत्रीले भने 'सिँचाइ नहरमा पानी उपलब्ध निरन्तर हुँदा बिजुली पनि उत्पादन नियमित हुन्छ ।’
कैलालीको पूर्वी क्षेत्रमा रानी, जमरा र कुलरिया कुला प्रणालीबाट १४ हजार ३ शय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । लम्की शाखा नहर निर्माण सकिएसँगै थप ६ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने उद्देश्य आयोजनाको छ ।
आयोजनाका शाखा तथा उपशाखाहरुमा कुलो प्रणाली विस्तारका लागि समेत काम भइरहेका छन् । झण्डै १ शय ५० वर्षअघि देखि कणर्ाली नदीबाट अस्थायी मुहान निर्माण गर्दै वर्षेनी रानी, जमरा र कुलरिया नदीमा पानी ल्याउने गरिन्थ्यो ।
आयोजनाले पहिलो चरण २०६७/०६८ देखि २०७४/०७५ मा विश्व बैङ्कको १२ अर्ब ३७ करोड ७५ लाख रुपैयाँ लागतमा निर्माण कार्य गरेको छ भने दोस्रो चरण २०७४/०७५ देखि २०८०/०८१ मा थप १५ अर्ब ३२ करोड ४९ लाख रुपैयाँ छुट्याएको छ । हाल दोश्रो चरणका निर्माण कार्यहरु धमाधम भइरहेका छन् ।