Hamro Patra
दुई साता पछि फोहोर संकलन सुचारु

टीकापुर, माघ १४
टीकापुर नगरपालिकाले दुई साता पछि बजार क्षेत्रको फोहोर संकलन थालेको छ । कर्मचारी अभाव भन्दै फोहोर संकलन रोकेको नगरपालिकाले स्थानीयको चर्को दवाव पश्चात आजदेखी फोहोर संकलन कार्य सुचारु गरेको हो ।

नगरपालिकाको वन वातावरण तथा सरसफाई उपशाखा प्रमुख लोकबहादुर बुढाले फोहोर संकलन सुचारु भएको जानकारी दिए । उनले सात जना व्यक्तिलाई दैनिक ज्यालादारी कामदारका रुपमा परिचालन गरेर फोहोर संकलन कार्य सुचारु गरिएको बताए ।

CMA Staff

उनले लामो समयदेखी फोहोर संकलन नभएका कारण बजार क्षेत्रमा फोहोरको मात्रा धेरै भएकाले पहिलो दिन दुईवटा साधन प्रयोग गरिएको बताए । उनले नियमित फोहोर संकलन गर्ने गाडी र थप एउटा ट्याक्टर परिचालन गरिएको जानकारी दिए ।

उनले बजार क्षेत्रको अधिकांश ठाउँबाट फोहोर उठेको बताए । ‘आज धेरै ठाउँबाट फोहोर उठाईएको छ’ उनले भने–‘अब फोहोर संकलन कार्य नियमित हुन्छ ।’

नगरपालिकामा फोहोर संकलन तर्फ कार्यरत ६ जना मध्ये ३ जनाले अवकाश लिएको र २ जना बिरामी भएर विदामा बसेपछि समस्या भएको बताईएको छ । तर स्थानीयले भने आफुखुशी कर्मचारी भर्ना गर्ने कार्यको विरोध भएपछि नगरपालिकाले प्रतिसोध साँधेको आरोप लगाउने गरेका छन ।

वन वातावरण तथा सरसफाई उपशाखाले कर्मचारी आवश्यक परेको भन्दै नगरपालिकालाई माग गरेको थियो । उपशाखाको मागका आधारमा पुष २५ गतेको नगर कार्यपालिका बैठकले सरसफाई कर्मचारी भर्ना गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा नगरपालिकाले दैनिक ज्यालादारीका रुपमा ११ जना कर्मचारी भर्ना गरेको थियो ।

नगरपालिकाले प्रकृया मिचेर आफुखुशी कर्मचारी भर्ना गरेको भन्दै राजनीतिक दल लगायतले चर्को विरोध जनाएका थिए ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update