Hamro Patra
कर्मचारी भर्नाको विरोध पछि नगरपालिकाले फोहोर उठाएन

टीकापुर, माघ १४
टीकापुर नगरपालिकाको बजार क्षेत्रमा विगत दुई सातादेखी फोहोर संकलन कार्य रोकिएको छ । नगरपालिकाले सरसफाई कर्मचारीको अभाव देखाउदै फोहोर संकलन रोकेको हो ।

उसले सरसफाई कर्मचारी नियुक्त गर्ने कार्य अघि बढेको जानकारी दिएको छ । पुष २५ गतेको नगर कार्यपालिका बैठकले सरसफाई कर्मचारी भर्ना गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा नगरपालिकाले दैनिक ज्यालादारीका रुपमा ११ जना कर्मचारी भर्ना गरेको थियो ।

नगरपालिकाले प्रकृया मिचेर आफुखुशी कर्मचारी भर्ना गरेको भन्दै राजनीतिक दल लगायतले चर्को विरोध गरेपछि निर्णय कार्यान्वयनमा आउन सकेको छैन । सोही बहानामा नगरपालिकाले बजार क्षेत्रको फोहोर संकलनमा रोक लगाएको स्थानीयको आरोप छ ।

Khadga Memorial And Janajagriti

आफुखुशी कर्मचारी भर्ना गर्न नपाएका कारण नगरपालिकाले फोहोर संकलन ठप्प पारेर प्रतिसोधपूर्ण व्यवहार देखाएको स्थानीयको आरोप छ । स्थानीय मातृकाप्रसाद तिमिल्सिनाले नगरपालिकाले फोहोर संकलन रोकेर नागरिकसँग प्रतिसोधपूर्ण व्यवहार देखाएको बताए ।

‘कर्मचारी अभावको बहाना मात्रै हो’ उनले भने–‘बेतिथिका विरुद्ध बोल्दा नगरपालिकाले फोहोर संकलन रोकेर प्रतिसोधपूर्ण व्यवहार देखाएको हो ।’

उनले नगरपालिकालाई सरसफाई कर्मचारी अभाव नै हो भने प्रकृया पुर्याएर छनौट गर्न सक्ने अधिकार रहेको बताए । ‘कर्मचारी आवश्यकता हो भने प्रकृया पुरा गर्नुपर्छ’ उनले भने–‘प्रकृया मिचेर भर्ती केन्द्र बनाउने कार्य स्विकार्य हुँदैन ।’

नगरपालिकाको वन वातावरण तथा सरसफाई उपशाखा प्रमुख लोकबहादुर बुढाले कर्मचारी अभावका कारण फोहोर संकलन हुन नसकेको कुरालाई गलत हल्ला फैलाईएको बताए । उनले यसअघि कार्यरत ६ जना मध्ये ३ जनाले अवकाश लिएको र २ जना बिरामी भएर विदामा बसेको जानकारी दिए ।

फोहोर संकलन कार्य रोकिएको भन्दै आलोचना भएपछि प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर बिष्टले दैनिक ज्यालादारीमा कर्मचारी राखेर भएपनि फोहोर संकलन कार्य अघि बढाउन निर्देशन दिएका छन ।

उपशाखा प्रमुख बुढाले सोमवारदेखी फोहोर संकलन कार्यले निरन्तरता पाउने बताए । उनले प्रमुख प्रशासकीय अधिकृतको निर्देशन अनुसार दैनिक ज्यालादारीमा कर्मचारी राखेर फोहोर संकलन कार्य सुचारु गरिने जानकारी दिए ।

‘भोलिदेखी फोहोर संकलन कार्यले निरन्तरता पाउँछ’ उनले भने–‘सरसफाई कर्मचारी नभएरै काम रोकिएको हो ।’

बजार क्षेत्रमा फोहोर संकलन नहुँदा दुर्गन्ध फैलिएको छ । बजारका थुप्रै ठाउँमा फोहोर यत्रतत्र छरिएको छ । स्थानीयलाई हिँडडुलमा समेत समस्या भैरहेको छ । उनीहरुले फोहोर संकलन नगरेको भन्दै नगरपालिकाको चर्को आलोचना गरिरहेका छन ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update