Hamro Patra
राजापुरमा धान नपाएपछि चामल कारखाना कैलालीमा धान खरिद गर्दै

योगेश रावल
टीकापुर, मंसिर ४
बर्दियाको राजापुरस्थित आधुनिक चामल कारखानाले कैलालीको टीकापुरमा धान खरिद सुरु गरेको छ । उसले राजापुर क्षेत्रमा लक्ष्य अनुसार धान खरिद गर्न नसकेपछि छिमेकी जिल्लामा समेत धान खरिद केन्द्र स्थापना गरेर धान खरिद गर्न थालेको हो ।

कारखानाले कैलालीको टीकापुर नगरपालिका–७ सत्तीमा धान खरिद केन्द्र स्थापना गरेको छ । उसले स्थापना गरेको धान खरिद केन्द्र कात्तिक २८ गतेबाट सञ्चालनमा आएको छ ।

मिल प्रबन्धक रेबन्त रावलले मंसिर १ गतेसम्म सत्ती धान खरिद केन्द्रबाट १ हजार ५ सय क्विन्टल धान खरिद भैसकेको जानकारी दिए । उनले सत्तीबाट मात्रै कम्तिमा १५ हजार क्विन्टल धान खरिद हुने अपेक्षा रहेको बताए ।

Khadga Memorial And Janajagriti

राजापुर क्षेत्रमा लक्ष्य अनुसार धान खरिद गर्न नसकेपछि मिल सञ्चालनमा ल्याउने भन्दै खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लि. (साविक–खाद्य संस्थान) ले छिमेकी जिल्लामा समेत धान खरिद प्रकृया सुरु गरेको हो ।

विगत केही वर्षको अवस्था हेर्दा राजापुर क्षेत्रमा चामल कारखानाले लक्ष्य अनुसार धान खरिद गर्न सकेको पाईदैन । उसले गतवर्ष लक्ष्यको तुलनामा ज्यादै न्यून मात्रामा धान खरिद गरेको थियो । मिल प्रबन्धक रावलका अनुसार ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेकोमा ३ सय क्विन्टल मात्रै खरिद गर्न सकेको थियो ।

चामल कारखानाले यसवर्ष ४५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । उसले राजापुरमा मात्रै यसवर्ष अहिलेसम्म २ सय क्विन्टल धान खरिद गरेको छ । मिल प्रबन्धक रावलले यसवर्ष समेत चामल कारखानाले लक्ष्य अनुसार धान खरिद गर्न नसकिने सम्भावना रहेको बताए । ‘हामी लक्ष्य पूरा गर्ने प्रयासमा छौं’ उनले भने–‘तर अवस्था हेर्दा लक्ष्य भेटाउने सम्भावना ज्यादै कम छ ।’

२०४५ सालमा स्थापना भएको चामल कारखानाले स्थापनाका केही वर्ष राम्रै उत्पादन गरेको थियो । देशमा द्वन्द्व सुरु भएपछि भने चामल कारखानाको अवस्था ओरालो लागेको देखिन्छ । तत्कालिन विद्रोही पक्षले कारखानामा बम विस्फोट समेत गराएको थियो ।

देश शान्तिपूर्ण अवस्थामा फर्केसँगै कारखानाले समेत पुनः गति लिएको थियो । तर पछिल्लो समय भने चामल अभावमा कारखानाको अवस्था ओरालो लागेको बताईन्छ । ‘२÷३ वर्ष यता धान नभएर मिल चलाउन सकिएको छैन’ मिल प्रबन्धक रावलले भने ।

एक सर्भेक्षणले राजापुर क्षेत्रका झण्डै ८० प्रतिशत किसानले मकवानपुर जातको धान खेती गर्ने गरेको पाईएको छ । सो धान ब्यापारीले चिउरा र भुजा उत्पादनका लागि महंगोमा खरिद गर्ने गरेको पाईएको छ । जसका कारण चामल कारखानाले धान खरिद गर्न नसकेको मिल प्रबन्धक रावल बताउँछन ।

सरकारले मकवानपुर जातको धानलाई मोटो धानका रुपमा वर्गीकृत गरेको छ । जस कारण मकवानपुर जातको धानको मूल्य अन्य मोटो धान सरह तोकिएको छ । सरकारले मोटो धान प्रति क्विन्टल २ हजार ५ सय ३२ रुपैयाँ ८० पैसा मूल्य निर्धारण गरेको छ ।

कारखानाको धान खरिद प्रकृयामा नै प्रभाव पर्न थालेपछि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित प्राथमिक खरिद समितिले मकवानपुर धानको मूल्य वृद्धिका लागि सिफारिस गरेको मिल प्रबन्धक रावलले जानकारी दिए । उनले मकवानपुर धानको मूल्य प्रति क्विन्टल कम्तिमा २ हजार ७ सय हुनुपर्ने माग सहित सिफारिस गरिएको बताए ।

समयमै धान खरिद प्रकृयाले किसान खुशी
सरकारले यसवर्ष समयमै धान खरिद प्रकृया सुरु गरेपछि किसान खुशी भएका छन । विगतका वर्षहरु भन्दा यसवर्ष केही समय अगावै धान खरिद प्रकृया सुरु भएको छ । गतवर्ष मंसिर १५ गतेबाट धान खरिद प्रकृया सुरु भएकोमा यसवर्ष कात्तिक २८ बाटै सुरु भएको छ ।

टीकापुर नगरपालिका–९ बैदीका शेरबहादुर बिष्टले समयमै उचित मूल्यमा धान बेच्न पाएकोमा खुशी व्यक्त गरे । उनले गतवर्ष मंसिरको अन्तिम साता ब्यापारीलाई सस्तोमा धान बेचेका थिए । ‘यो वर्ष निकै सहज भयो’ उनले भने–‘हरेक वर्ष यसरी नै समयमै धान बेच्न पायो भने किसानलाई धेरै राहत हुनेछ ।’

यसवर्ष सरकारले समयमै धान खरिद प्रकृया सुरु गरेपछि बिष्ट जस्तै धेरै किसानले समयमै उचित मूल्यमा धान बेच्न पाएका हुन । खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लि. धनगढीका प्रमुख अनिल श्रेष्ठले किसानको समस्यालाई मध्यनजर गरेर यसवर्ष धान खरिद प्रकृया चाँडो सुरु गरिएको बताए ।

उनले सरकारले यसवर्ष धान खरिद प्रकृया चाँडो सुरु गरेको मात्रै नभई मूल्य समेत ब्यापारीको भन्दा बढी तोकेको बताए । ‘यसवर्ष किसानले समयमै राम्रो मूल्यमा धान बेच्न पाएका छन’ उनले भने–‘जसले गर्दा किसान खुशी देखिन्छन ।’

कम्पनीले कैलालीका विभिन्न ठाउँमा डिपो (धान खरिद केन्द्र) सञ्चालन गरेर किसानबाट धान खरिद गरिरहेको छ । प्रमुख श्रेष्ठले हालसम्म १ हजार ९ सय क्विन्टल धान खरिद भैसकेको जानकारी दिए ।

धान खरिदमा भेदभाव भएको किसानको आरोप
कतिपय किसानले भने कम्पनीले धान खरिदमा भेदभाव गर्ने गरेको आरोप लगाएका छन । उनीहरुले धान राम्रो नभएको भन्दै डिपोले खरिद गर्न अस्विकार गर्ने गरेका कारण समस्या भैरहेको बताए ।

टीकापुर नगरपालिका–६ पर्सेनीका किसान भुपेन्द्र खड्काले धान बिक्री गर्न डिपोमा पुगेका थुप्रै किसानलाई रित्तै फर्काईने गरेको बताए । उनले गुणस्तरीय धान नभएको भन्दै किसानलाई फर्काईने गरेको जानकारी दिए ।

‘धेरै टाढाबाट किसान धान बोकेर डिपोसम्म पुगेको हुन्छ । तर धान बेच्न पाउँदैन’ उनले भने–‘किसानलाई दुःख दिने काम भैरहेको छ ।’

खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लि. धनगढीका प्रमुख श्रेष्ठले किसानले सफा नगरेरै धान बेच्न खोज्दा समस्या भैरहेको बताए । उनले गुणस्तरीय धान मात्रै किन्ने कम्पनीको नीति अनुसार केही किसानको धान खरिद गर्न समस्या भएको हुनसक्ने बताए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update