Hamro Patra
टीकापुर महोत्सव २०८० सम्पन्नः टीकापुरलाई सरप्राईज गिफ्ट दिन्छुः मुख्यमन्त्री शाह

टीकापुर, माघ १०
टीकापुर उद्योग वाणिज्य संघद्वारा आयोजित सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सव २०८० आज सम्पन्न भएको छ । पौष २७ गतेदेखी सुरु भएको महोत्सव १२ दिनसम्म सञ्चालन भएको थियो ।

महोत्सवको समापन समारोहमा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह रहेका थिए । समापन समारोहमा बोल्दै मुख्यमन्त्री शाहले विकासका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहने बताए ।

उनले सुदूरपश्चिम प्रदेश सरकारले निकट भविष्यमा आयोजना गर्ने लगानी सम्मेलनले निजी क्षेत्रलाई टेवा पुग्ने बताए । उनले लगानी सम्मेलनले सुदूरपश्चिम प्रदेशमा विकासका सम्भावनाहरुको पहिचान गर्ने बताए ।

CMA Staff

उनले टीकापुरको विकासका लागि आफू प्रयत्नरत रहेको बताउँदै केही समय भित्रै टीकापुरका लागि सरप्रराईज गिफ्ट दिने तयारी भैरहेको बताए । ‘टीकापुरका लागि सरप्राईज गिफ्टको तयारीमा छौं’ उनले भने–‘टीकापुरको विकासका लागि चिन्तित छुँ ।’

उनले आफ्नो बाल्यकाल टीकापुरमै बितेकाले पनि आफू टीकापुरको विकास प्रति चिन्तित रहेको बताए ।

सोही कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. जगतबहादुर सिँह रावल, टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाह, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक रविन्द्र केसी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, निवर्तमान अध्यक्ष रामबहादुर भण्डारी लगायतले बोलेका थिए ।

संघका वरिष्ठ उपाध्यक्ष तथा टीकापुर महोत्सव तयारी तथा व्यवस्थापन समितिका संयोजक सन्तोष खड्काले स्वागत गरेको कार्यक्रम संघका अध्यक्ष चक्रपाणी सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । समापन समारोह महासचिव नवराज रिमाल र उदघोषिका मञ्जु पौडेलले सञ्चालन गरेका थिए ।

महोत्सव सफलतापूर्वक सम्पन्न भएको संयोजक खड्काले जानकारी दिए । उनले महोत्सव सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै प्रति धन्यवाद व्यक्त गरेका छन । उनले महोत्सवको आयव्यय एक साता भित्रै सार्वजनिक गर्ने जानकारी दिए ।

महोत्सवको एक समारोहकाबीच नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेका थिए । महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुती, कृषि प्रदर्शनी, विज्ञान प्रर्दशनी र स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने खालका कार्यक्रम प्रस्तुत भएका थिए ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update