शिकारीको पासोमा परेर पाटेबाघ मृत फेला
टीकापुर, पौष ७
विश्वमै दुर्लभ मानिने पाटेबाघ कैलालीको जानकी गाउँपालिका वडा नं. ९ स्थित सामुदायिक वनभित्र मृत फेला परेको छ । जंगली जनावरका लागि सिकारीले थापेको काँडेतारको पासोमा परेर पोथी पाटेबाघ मृत फेला परेको हो ।
सामुदायिक वनमा घाँस दाउरा गर्न गएका महिलाहरुले पाटेबाघ मृत अवस्थामा फेला पारेका हुन् । सामुदायिक वनभित्र थापेको काँडेतारको पासोमा परेर बाघ मरेको अवस्थामा फेला परेको सव डिभिजन वन कार्यालय लम्कीका प्रमुख शेरबहादुर भण्डारीले बताए ।
‘घाँस काट्न गएका महिलाहरुले देखेपछि हामी घटनास्थल पुग्दा झण्डै १७÷१८ वर्ष उमेरको पोथी पाटेबाघ मृत फेला परेको छ’ प्रमुख भण्डारीले भने ‘काँडेतारको पासो बाघको घाँटीमा परेकाले मरेको हो, केही दिन अघि नै पासोमा परेको घटनास्थलबाट देखिन्छ ।’
बाघ संरक्षणका लागि विश्वव्यापी रुपमै चुनौति बढिरहेका बेला वयस्क पोथी पाटेबाघद्ध मृत फेला पर्नुले संरक्षणमा चुनौति थपिएको भण्डारीले बताए ।
स्थानीय मनिषा साउँद लगायतका महिलाहरुले दाउराका लागि वनमा गएका बेला मृत बाघ देखेर प्रहरीलाई खबर गरेका थिए ।
‘हामीहरु दाउराको लागि वनमा गएका बेला एक्कासी बाघ देखेपछि डराएर भाग्दै थियौं’ मनिषाले भनिन् ‘पछाडिका साथीहरुले पासोमा परेको छ, मरेको हो भनेपछि प्रहरीलाई खबर गरेका हौं ।’
उक्त सामुदायिक वनमा निलगाई, बाघ लगायतका जनावरहरु पाउने गरेका छन् । कर्णाली नदीको पारीतर्फ रहेको बर्दिया राष्टिय निकुञ्ज र चुरे क्षेत्रको वनसँग सीमाना जोडिएको क्षेत्रबाट जंगली जनावरहरु ओहोरदोहोर गर्ने गरेका छन् ।
प्रकाशित मिति: आइतबार, माघ ७, २०८० १५:०१
प्रतिक्रिया दिनुहोस्