Hamro Patra
कैलालीको स्थानीय तह उपप्रमुख तथा उपाध्यक्षहरु संगठित

टीकापुर, माघ ६

कैलालीका स्थानीय तहका उप-प्रमुख तथा उपाध्यक्षहरुको एक भेलाले १३ सदस्यीय फोरम गठन गरेको छ ।

टीकापुरमा शुक्रबार सम्पन्न भेलाले टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहको संयोजकत्वमा १३ पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरु सदस्य रहने गरी फोरम गठन गरेको हो ।

Khadga Memorial And Janajagriti

उपप्रमुख तथा उपाध्यक्षहरुले पालिकामा सम्पादन गर्ने कामहरुको अनुभव आदान प्रदान गर्न, पालिकाहरुसँग आवश्यक सहजीकरण गर्नका लागि भेलाले फोरम गठन गरेको हो ।

भेलाले हरेक तीन महिनामा अनुभव आदान प्रदान कार्यक्रम गर्ने र आगामी कार्यक्रम चैत्र महिनामा लम्कीचुहा नगरपालिकामा गर्ने समेत निणर्य गरेको छ ।

‘न्यायिक सम्पादन, राजश्व संकलन, संघसंस्था समन्वय, अनुगमन जस्ता कामहरु गर्दै आइरहेकोमा अन्य पालिकाबाट केही अनुभवहरु बटुल्न सहज होस् भन्नका लागि हामी संगठित भएका हौं’ टीकापुरका उपप्रमुख शाहले भने ‘आफ्ना क्षेत्राधिकारका बारेमा संगठित रुपमा कसरी राम्रो गर्न सकिन्छ ? एकअर्कालाई रचनात्मक सहयोग कसरी गर्न सकिन्छ ? भनेर केही नयाँ सिक्ने र आफूले जानेका कुराहरु सिकाउनका लागि संगठित रुपमा पहल गर्ने हाम्रो उद्देश्य हो ।’

भेलामा लम्कीचुहा नगरपालिकाका उपप्रमुख जुना चौधरीले पालिका स्तरमा रहेका सीमा विवादको समाधान गर्न समेत भेलाले मद्दत पुर्याउने बताइन् ।

‘लम्कीचुहा नगरपालिका जानकी गाउँपालिका र मोहन्याल गाउँपालिकासँग जोडिएको छ, राजश्व संकलन र रोयल्टीका लागि पालिकामा यसअघि समेत विवाद भएको थियो’ उनले भनिन् ‘राजश्व समितिको संयोजकहरु नै उपाध्यक्ष हुने हुनाले उनीहरु बिच सम्वाद हुँदा सहज रुपमा समस्या समाधान गर्न मद्दत पुग्छ ।’

भेलामा धनगढी उपमहानगर पालिकाका उपप्रमुख कन्दकला कुमारी रानाले नगरको समुचित विकासका लागि प्रमुख र उपप्रमुखबिच सहकार्य हुनुपर्नेमा जोड दिइन् ।

‘आपसी तिक्तता छोडेर नगरको हितमा काम गर्नका लागि प्रमुख र उपप्रमुखबिच सम्वाद, सहजीकरण र समन्वय हुन जरुरी छ’ उनले भनिन् ‘संविधानले नै हाम्रा अधिकारहरु, जिम्मेवारी छुट्याएको छ भने त्यही अनुसार काम गर्न दुबै बिच सहकार्य हुन जरुरी छ ।’

गोदावरी नगरपालिकाका उपप्रमुख शारदादेवी रोकायाले पालिकाले सम्पादन गर्ने विकास निर्माणका काममा प्राविधिक कर्मचारीका अनुसार अनुगमन गर्नुपर्ने बाध्यता रहेको बताइन् ।

‘हामीलाई प्राविधिक ज्ञान नै हुँदैन, कालोपत्रे सडक आँखाले हेरेर मात्रै गुणस्तरीय छ भन्न बाध्य छौं’ रोकायाले भनिन् ‘पालिकाका प्राविधिक कर्मचारीले कमजोरी गरे उपप्रमुखहरु फस्ने अवस्था छ ।’

उपप्रमुखहरुको भेलाले बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । जोशीको केही दिन अघि उपचारका क्रममा ज्यान गएको थियो ।

भेलामा गौरीगंगा नगरपालिकाका उपप्रमुख भोजबहादुर बम, घोडाघोडी नगरपालिकाका उपप्रमुख गुलियाकुमारी चौधरी, भजनी नगरपालिकाका उपप्रमुख राजु तिरुवाको उपस्थिति थियो ।

त्यस्तै चुरे गाउँपालिकाका उपाध्यक्ष धनादेवी थापा, जोशीपुर गाउँपालिकाका उपाध्यक्ष रेखादेवी कठरिया, जानकी गाउँपालिका उपाध्यक्ष लालमति कठरिया र मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कमलबहादुर साउँदको उपस्थिति थियो ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update