Hamro Patra
टीकापुरको माष्टर प्लान बनाएका रिमाललाई सम्मान

टीकापुर, पौष २७

नेपालकै एक व्यवस्थित शहरका रुपमा चिनिएको टीकापुरका डिजाइनर वरिष्ठ इञ्जिनियर शंकरनाथ रिमाललाई महोत्सवका अवसरमा संघले सम्मान गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले वरिष्ठ इञ्जिनियर रिमाललाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेका हुन् ।

तत्कालीन टीकापुर विकास समितिले टीकापुरको मास्टर प्लान बनाउने जिम्मा पाएका रिमालले व्यवस्थित शहरका रुपमा टीकापुरको नक्शांकन गरेका थिए ।

Khadga Memorial And Janajagriti

उनी वि.सं. १९९१ मा माता सीतादेवी र पीता देवेन्द्रनाथका जेष्ठ पुत्रका रुपमा काठमाण्डौंको टंगालमा जन्मिएका हुन । उनी इन्जिनियर मात्रै नभई बहुप्रतिभा भएका व्यक्ति हुन । उनी वास्तुकलाविद, चित्रकलाकारका रुपमा समेत चिनिन्छन ।

उनले टीकापुर शहरको नक्शाङ्कन मात्रै हैन काठमाण्डौंको शहिदगेट, पशुपतिको पुनःनिर्मित उनमत्त भैरव मन्दिर, प्रज्ञा प्रतिष्ठान भवन, सोल्टी होटल, तारागाउँ, एभरेष्ट होटल, जनकपुरको रामानन्द गेट, हरिवन सर्लाहीको चतुर्भुजेश्वर मन्दिर र लुम्बिनी क्षेत्रका विभिन्न स्मारकको नक्शाङ्कन गरेका छन ।

उनले स्याङ्जाको साल्मेडाँडामा १८ जाति एउटै थलोमा उभिएको एक अनुपम जातीय एकताको स्तम्भ ‘गोरखा स्मारक’ को डिजाइन समेत गरेका छन ।

यति मात्रै नभई उनले नारायणहिटीको मंगल सदन, नानीगञ्ज र दरवार परिसरको समेत नक्शाङ्कन गरेका छन । उनले नै नेपालको राष्ट्रिय झण्डाको डिजाइन गरेका थिए । नेपालको राष्ट्रिय झण्डा विश्वमै मौलिकताको एक जीवन्त नमूना हो ।

उनले दरवार स्कुलबाट शिक्षा आरम्भ गरेर भारतको कलकत्ता विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक गरेका छन । उनले जर्मनीबाट विशेष तालिम समेत हासिल गरेका छन । उनी बि.सं. २०१४ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए ।

उनी राष्ट्रिय योजना आयोगको सदस्य समेत रहिसकेका छन । उनले आफ्नो जीवनकालमा थुप्रै पुरस्कार र सम्मान हासिल गरिसकेका छन । उनीसँग तन्त्र दर्शनका विविध पक्षमा पनि वार्ता र बहस गर्न सक्ने ज्ञान छ । उनले लुम्बिनी चक्र, श्रीयन्त्र लगायतका किताब समेत लेखेका छन । उनले पुर्याएको योगदानले नेपाली कलाको एउटा कालखण्ड नै स्थापित भएको छ ।

ॅचार पाँच जना बसेर टीकापुरको योजना कोरेका थियौं, आज विशाल टीकापुर बनेको देख्दा निकै खुशी लागेको छ’ सम्मान ग्रहण गर्दै रिमालले भने ॅनेपालकै व्यवस्थित शहरका रुपमा विकसित भइरहेको टीकापुरले अन्य शहरहरुलाई समेत योजना बनाउन टेवा पुर्याउने छ, यहाँका फराकिला बाटाहरु, सार्वजनिक स्थलहरु आदि सबै देशकै लागि नमूना योग्य छन् ।’

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update