Hamro Patra
भानु पुस्तकालयमा किशोरीका लागि ट्याग कार्यक्रम सुरु

टीकापुर, कात्तिक १८
टीकापुर नगरपालिका–७ सत्तीस्थित भानु सामुदायिक पुस्तकालयमा किशोरीहरुका लागि प्रविधि मार्फत नेतृत्व विकास कार्यक्रम सुरु भएको छ । पुस्तकालयले आज आयोजना गरेको एक समारोहकाबीच कार्यक्रम सुरु भएको घोषणा गरिएको छ ।

समारोहका प्रमुख अतिथि वडाध्यक्ष रामलाल डगौरा थारुले कार्यक्रम सुरु भएको घोषणा गरे । सो अवसरमा बोल्दै उनले कार्यक्रमको समापन पश्चात बौद्धिक जनशक्ति उत्पादन हुने विश्वास रहेको बताए ।

Khadga Memorial And Janajagriti

उनले सबैको सहकार्यले मात्रै कार्यक्रमले उद्देश्य प्राप्त गर्ने भएकाले सरोकारवाला सबैको सकारात्मक भूमिकाको आवश्यकता रहने बताए ।

पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र जैशीको अध्यक्षतामा भएको कार्यक्रममा रिड नेपालका चिनकाजी श्रेष्ठले वर्तमान अवस्थामा किशोर भन्दा किशोरी हरेक कुरामा पछि परेकाले उनीहरुको व्यक्तित्व उकास्न यस्तो कार्यक्रम लागु गरेको जानकारी दिए । उनले कार्यक्रमको समापनसँगै दक्ष जनशक्ति उत्पादन हुने र किशोरीले समाजको नेतृत्व गर्न सक्ने विश्वास व्यक्त गरे ।

यस कार्यक्रमलाई रिड नेपाल र आइरेक्सले सहयोग गरेको छ । यस कार्यक्रम अन्र्तगत साविक नारायणपुर र धनसिँहपुर गाविसका ५ सामुदायिक र १ संस्थागत विद्यालयका १४ देखी २२ वर्ष उमेरका १६५ किशोरी मध्ये ५० जना छनौट भएका छन ।

१७ महिने परियोजना अन्र्तगतको कार्यक्रम तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणको समापनसँगै थप चार महिनाका लागि ५० जना मध्येबाटै २४ जना किशोरी छनौट हुनेछन । ती २४ जना मध्येबाट तेस्रो चरणका लागि ३ जना किशोरी छनौट हुने रिड नेपालका साजन थापाले जानकारी दिए ।

अन्तिम चरणका लागि छनौट भएका ३ जना किशोरीलाई काठमाण्डौंमा सञ्चालन हुने क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी गराईने बताईएको छ । यो कार्यक्रम कैलालीका ३ वटा सामुदायिक पुस्तकालयमा लागु भएको छ । जसमध्ये अन्य दुईवटा टीकापुर र भजनीस्थित सामुदायिक पुस्तकालय हुन । रिड नेपालले देशभर १० वटा सामुदायिक पुस्तकालयमा यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update