टीकापुर, पौष २६
नेपालकै एक व्यवस्थित शहरका रुपमा चिनिएको टीकापुरका डिजाइनर वरिष्ठ इन्जियिर शंकरनाथ रिमाल सम्मानित हुने भएका छन । उनलाई टीकापुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०८० को उद्घाटन समारोहमा सम्मान गर्ने भएको छ ।
तत्कालिन टीकापुर विकास समितिले रिमाललाई टीकापुरको मास्टर प्लान बनाउने जिम्मा दिएको थियो । उनले नेपालकै व्यवस्थित शहरका रुपमा टीकापुरको नक्शांकन गरेका थिए ।
उनी वि.सं. १९९१ मा माता सीतादेवी र पीता देवेन्द्रनाथका जेष्ठ पुत्रका रुपमा काठमाण्डौंको टंगालमा जन्मिएका हुन । उनी इन्जिनियर मात्रै नभई बहुप्रतिभा भएका व्यक्ति हुन । उनी वास्तुकलाविद, चित्रकलाकारका रुपमा समेत चिनिन्छन ।
उनले टीकापुर शहरको नक्शाङ्कन मात्रै हैन काठमाण्डौंको शहिदगेट, पशुपतिको पुनःनिर्मित उनमत्त भैरव मन्दिर, प्रज्ञा प्रतिष्ठान भवन, सोल्टी होटल, तारागाउँ, एभरेष्ट होटल, जनकपुरको रामानन्द गेट, हरिवन सर्लाहीको चतुर्भुजेश्वर मन्दिर र लुम्बिनी क्षेत्रका विभिन्न स्मारकको नक्शाङ्कन गरेका छन ।
उनले स्याङ्जाको साल्मेडाँडामा १८ जाति एउटै थलोमा उभिएको एक अनुपम जातीय एकताको स्तम्भ ‘गोरखा स्मारक’ को डिजाइन समेत गरेका छन ।
यति मात्रै नभई उनले नारायणहिटीको मंगल सदन, नानीगञ्ज र दरवार परिसरको समेत नक्शाङ्कन गरेका छन । उनले नै नेपालको राष्ट्रिय झण्डाको डिजाइन गरेका थिए । नेपालको राष्ट्रिय झण्डा विश्वमै मौलिकताको एक जीवन्त नमूना हो ।
उनले दरवार स्कुलबाट शिक्षा आरम्भ गरेर भारतको कलकत्ता विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक गरेका छन । उनले जर्मनीबाट विशेष तालिम समेत हासिल गरेका छन । उनी बि.सं. २०१४ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए ।
उनी राष्ट्रिय योजना आयोगको सदस्य समेत रहिसकेका छन । उनले आफ्नो जीवनकालमा थुप्रै पुरस्कार र सम्मान हासिल गरिसकेका छन । उनीसँग तन्त्र दर्शनका विविध पक्षमा पनि वार्ता र बहस गर्न सक्ने ज्ञान छ । उनले लुम्बिनी चक्र, श्रीयन्त्र लगायतका किताब समेत लेखेका छन । उनले पुर्याएको योगदानले नेपाली कलाको एउटा कालखण्ड नै स्थापित भएको छ ।
नेपालकै व्यवस्थित शहरका रुपमा चिनिएको टीकापुरका डिजाइनर रिमाललाई सम्मान गर्न पाएकोमा हामी गौरवान्वित भएको संघका महासचिव नवराज रिमालले बताए । ‘यो हाम्रो लागि गौरवको कुरा हो’ उनले भने–‘आगामी वर्षहरुमा समेत यस्ता मुर्धन्य व्यक्तिहरुलाई सम्मान गर्दै जाने सोच छ ।’