Hamro Patra
टीकापुर महोत्सवको तयारी पूराः उपप्रधानमन्त्री खड्काले उद्घाटन गर्ने

टीकापुर, पौष २६

टीकापुर उद्योग वाणिज्य संघले आयोजना गर्ने सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको छ । मञ्च सजावट बाहेकका सम्पूर्ण तयारीका कामहरु पूरा भएको आयोजक टीकापुर उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सव तयारी तथा व्यवस्थापन समितिका संयोजक एवं संघका वरिष्ठ उपाध्यक्ष सन्तोष खड्काले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताए । ‘मञ्चको सजावटबाहेकको सम्पूर्ण तयारी पूरा भइसकेको छ’ संयोजक खड्काले भने ‘यस पटकको महोत्सवमा २ शय बढी स्टलहरु रहेका छन् ।’

Khadga Memorial And Janajagriti

हरेक वर्षजसो महोत्सवभित्र थारु समुदायका परिकार, पहिरन र पहिचान झल्काउने स्टलहरु समेत राखिएको संयोजक खड्काले बताए । महोत्सवको उद्घाटन सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्ने भएका छन ।

भोलिदेखि माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवलाई टीकापुर ट्युसन सेन्टर (टिसिसी) ले टाइटल प्रायोजन गरेको छ ।

महोत्सवका उद्घाटन कार्यक्रमका प्रमुख अतिथिलाई संघले टीकापुरबासीका तर्फबाट यस क्षेत्रका विभिन्न मागहरु समेत राख्ने गरेको छ । २०६५ सालमा लम्की–टीकापुर–खक्रौला सडक कालोपत्रेको एकल सुत्रीय माग राखेको महोत्सवले त्यसयता आयोजना भएका महोत्सवमा आउने अतिथिहरुलाई यसैगरी माग राख्दै आएको छ ।

संघले विगतदेखि उठाउँदै आएका मागहरु सम्बोधनका लागि राज्यको ध्यानाकर्षण गराउन महोत्सवले महत्वपूर्ण भूमिका खलिरहेको बताउँदै संघका अध्यक्ष चक्रपाणी सापकोटाले महोत्सव राज्यविरुद्धका सालिन आन्दोलन समेत भएको बताए ।

‘राज्यबाट पछाडि परेको टीकापुर क्षेत्रमा राज्यको ध्यानाकर्षण गर्न हामीले महोत्सव आयोजना गर्दै आएका छौं’ सापकोटाले भने ‘हामी सबैले यसलाई अन्य रमाइलो मेला जस्तो नसोचेर राज्यविरुद्धको सालिन आन्दोलनका रुपमा लिन जरुरी छ ।’

महोत्सवमा यसवर्ष समेत थारु गाउँसहित कृषि प्रर्दशनी, विज्ञान प्रदशर्नी, अटोमोवाइल्स, रमाइलो मेलाका साथै व्यापारिक स्टलहरु रहेका छन् भने महोत्सवका पाहुनाहरुलाई सत्तीमा निर्मित बेतबाँसका सामाग्रीबाट बनेको मायाको चिनो वितरण गरिनेछ ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update