टीकापुर, पौष २६
कैलालीको चिसापानी–कुइने सडकखण्डको डङडंगेमा बुधवार साँझ मोटरसाइकल दुर्घटनामा परी एक दम्पत्तीको मृत्यु भएको छ ।
अछामको पञ्चदेव विनायक नगरपालिका वडा नं. १ कुइकाका ३८ वर्षीय खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालको आफैले चलाएको मोटरसाइकल दुर्घटना परी मृत्यु भएको हो ।
अछामबाट बर्दिया आउने क्रममा ढकालले चलाएको भे.१३प. १०७४ नम्बरको मोटरसाइकल मोहन्याल गाउँपालिका वडा नं. ७ को पितमारी भन्दा झण्डै दुई शय मिटर उत्तरस्थित सडकबाट तीन शय मिटर तल कर्णाली नदीको खोचमा खसेको थियो ।
इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार प्रहरीलाई मोटरसाइकल दुर्घटनाबारे राति ८ बजे जानकारी आएको थियो । सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरीको टोली घट्ना स्थल पुगेर ढकाल दम्पत्तीलाई कर्णाली राफ्टिङ एन्ड एड्भेण्चर प्रा.लि.को राफ्टिङ बोटबाट चिसापानी पुर्याइएको थियो ।
राति करीव ११ बजे चिसापानी पुर्याएका ढकाल दम्पत्तीको मृत्यु भइसकेको थियो । मृतकको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कुलदीप चन्दले जानकारी दिए ।