Hamro Patra
टीकापुर नगरपालिका न्यायिक समितिद्वारा मेलमिलापकर्तालाई सपथ

टीकापुर, कात्तिक १८
टीकापुर नगरपालिकाले मेलमिलापकर्तालाई आज एक समारोहकाबीच सपथ ग्रहण गराएको छ । न्यायिक समितिका संयोजक उपमेयर केशरी रावल बिष्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेयर तपेन्द्रबहादुर रावल रहेका थिए ।

न्यायिक समिति संयोजक बिष्टले नगरपालिकाका विभिन्न वडामा रहेका ५१ जना मेलमिलापकर्तालाई सपथ गराएकी हुन ।

Khadga Memorial And Janajagriti

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर रावलले हरेक नागरिकलाई समान दृष्टिले हेर्न आग्रह गरे । उनले मेलमिलापकर्ताले निर्वाह गर्ने भूमिकाले नगरपालिकाको न्याय सम्पादनमा असर पार्ने भएकाले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उपमेयर तथा न्यायिक समिति संयोजक बिष्टले मेलमिलापकर्ता न्यायिक समितिको महत्वपूर्ण अंग भएको बताईन । उनले न्याय सम्पादनमा तलमाथि गरे उल्टै मेलमिलापकर्तालाई नै मुद्दा लाग्नेतर्फ कानूनी व्यवस्था रहेको तर्फ सचेत रहन समेत आग्रह गरिन ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले विवाद सुल्झाउन नसक्ने मुद्दामा हात नहाल्न मेलमिलापकर्तालाई सुझाव दिए । उनले त्यस्ता मुद्दामा हात हाल्दा उल्टै विवाद बढ्न सक्ने भएकाले समयमै कानूनी कारवाहीका लागि अघि बढाउनुपर्ने बताए ।

मेलमिलापकर्ताका तर्फबाट रघु उपाध्यायले न्यायिक समितिको कार्य सम्पादनमा कुनै किसिमको आँच नआउने गरी काम गर्ने बताए । उनले सबै मेलमिलापकर्ता न्यायिक समितिको मर्म अनुसार चल्ने कुरामा प्रतिवद्ध रहेको बताए ।

नगरपालिकाको न्याय सम्पादन सबलिकरणमा द एशिया फाउण्डेशनले सहयोग गरिरहेको छ । द एशिया फाउण्डेशनका सुदूरपश्चिम प्रमुख यज्ञमान सेठ्ठीले न्यायिक समितिले सम्पादन गर्ने काममा सहजिकरणको भूमिका निर्वाह गरिने बताए ।

नगरपालिकाले केही दिन अघि सबै मेलमिलापकर्तालाई आठ दिने सहजिकरण तालिम दिएको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update