Hamro Patra
टीकापुर महोत्सवका अतिथिलाई बेतबाँसको मायाको चिनो

टीकापुर, पुष २०
टीकापुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सव २०८० मा अतिथिहरुलाई बेतबाँसबाट निर्मित मायाको चिनो प्रदान गर्ने भएको छ ।

स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले अतिथिहरुका लागि बेतबाँसबाट बनेको मायाको चिनो बनाउन लागेको महोत्सव तयारी तथा व्यवस्थापन समितिका संयोजक सन्तोष खड्काले जानकारी दिएका छन ।

CMA Staff

उनले मायाको चिनो बनाउनका लागि टीकापुर नगरपालिका वडा नम्बर ७ सत्तीस्थित तिलगंगा बेतबास फर्निचर उद्योगलाई जिम्मा दिईएको बताए । ‘स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले बेतबाँसको मायाको चिनो दिन लागेका हौं’ उनले भने–‘यसले राम्रो सन्देश दिने विश्वास गरेका छौं ।’ उनले मायाको चिनोमा मात्रै पनि केही रकम बाहिर जानबाट रोकिने बताए ।

टीकापुर नगरपालिका वडा नम्बर ७ सत्ती क्षेत्र बेतबाँस उत्पादनका लागि परिचित छ । यहाँस्थित कर्णाली सामुदायिक वनमा बेतबाँस वर्षेनी मनग्ये उत्पादन हुन्छ । यहाँ उत्पादन भएको बेतबाँस नेपालमा मात्रै नभई भारतमा समेत निर्यात हुने गरेको छ ।

महोत्सवमा अन्य कुरा समेत स्थानीयलाई प्राथमिकता दिएको छ । संयोजक खड्काले यस पटक पण्डाल र साउण्ड सिस्टमको जिम्मा स्थानीय आर्या हार्दिक डि.जे. एण्ड टेण्ट हाउसलाई दिईएको बताए । उनले स्थानीय ब्यापारीले समेत काम गर्न सक्छन भन्ने सन्देश दिनका लागि यस्तो निर्णय गरेको जानकारी दिए ।

उनले स्थानीय उत्पादनलाई समेटेर बृहत कृषि प्रदर्शनी समेत सञ्चालन हुने बताए । प्रर्दशनीमा कृषकहरुले आफ्नो उत्पादनलाई प्रतिस्पर्धीका रुपमा समेत सहभागिता जनाउने छन । यसरी प्रतिस्पर्धामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने कृषकलाई नगद र प्रमाण पत्र सहित पुरस्कृत गरिने बताईएको छ ।

यस्तै विगतका महोत्सव झैं यसवर्ष पनि थारु गाउँमा स्थानीय खानपान, भेषभुषा र कला संस्कृति प्रर्दशन हुनेछ । थारु कल्याणकारी सभा क्षेत्र नं. १ कैलालीले थारु गाउँ व्यवस्थापनको जिम्मा लिएको छ ।

संघको आयोजनामा पुष २७ देखी माघ ८ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । २०६५ सालदेखी महोत्सव हुँदै आएको छ । विगत दुई वर्ष भने कोरोना महामारीका कारण महोत्सव हुन सकेको थिएन ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update