टीकापुर, पुष १९
टीकापुर उद्योग वाणिज्य संघले आयोजना गर्ने सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सव २०८० को समुदघाटन उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्ने भएका छन ।
संघले यही पुष २७ गतेदेखी माघ ८ गतेसम्म टीकापुरस्थित खुल्ला मैदानमा महोत्सवको आयोजना गर्ने भएको छ । महोत्सवलाई टीकापुर ट्युसन सेन्टर (टिसिसी) ले टाइटल प्रायोजन गर्ने सहमति भएको छ ।
महोत्सवको तयारी लगभग अन्तिम चरणमा पुगेको संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका महोत्सव तयारी तथा व्यवस्थापन समितिका संयोजक सन्तोष खड्काले जानकारी दिए ।
उनले यसवर्ष समेत महोत्सवस्थलमा थारु गाउँ, कृषि प्रर्दशनी, विज्ञान प्रदशर्नी, अटोमोवाइल्स, रमाईलो मेलाका साथै व्यापारिक स्टलहरु रहने बताए । यसवर्ष महोत्सवस्थलमा करिव २ सय स्टल रहनेछन ।
उनका अनुसार महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिईएको छ । उनले यसवर्ष सत्तीस्थित बेतबाँसका सामाग्रीबाट बनेको मायाको चिनो वितरण गरिने बताए ।
महोत्सवमा राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ । संघले विगत २०६५ सालदेखी महोत्सवको आयोजना गर्दै आएको छ ।