काठमाण्डौं, पुष १४
सरकारले बालकुमारी घटनामा सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरेको छ ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले उनीहरुलाई संयमता कायम नगरेको भन्दै कारबाही गर्ने निर्णय गरेको हो ।
गृहमन्त्री श्रेष्ठका अनुसार फिल्डमा खटिएका प्रहरी नायब उपरीक्षक, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पिएसओलाई निलम्बन गर्ने निर्णय भएको छ ।
यस्तै, ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई प्रहरी हेडक्वार्टर र सिडिओ रूद्रप्रसाद पण्डितलाई थप सोधपुछका लागि गृह मन्त्रालय तानिएको छ ।
यस्तै, इपिएस शाखाका निर्देशक गुरूदत्त सुवेदीलाई सरूवा गर्ने निर्णय पनि सरकारले गरेको छ ।
शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए ।
त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो । घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।