धनगढी, पुष १४
कपिलवस्तुको चन्द्रौटामा भएको दुर्घटनामा धनगढीकी एकजना खेलाडीको ज्यान गएको छ भने ११ जना घाईते भएका छन । प्रहरीका अनुसार ज्यान जानेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडाकी १८ वर्षीया निता खड्का रहेकी छन् ।
उनी मकवानपुरको हेटौडामा सम्पन्न प्रथम अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किदै गरेको अवस्थामा दुर्घटनामा परेकी हुन ।
सुदूरपश्चिमका उसु खेलाडी चढेको ३३९२ नम्बरको बसलाई आज बिहान ट्रकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । सोही दुर्घटनामा परेर उसु खेलाडी पुष्पा कुवँरको हात भाँचिएको छ ।
घाईते भएकी खड्कालाई उपचारका लागि तत्काल बुटवलस्थित लुम्बिनी प्रदेश अस्पताल लगिएको थियो । जहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
उसुका राष्ट्रिय रेफ्रि राजिव गुप्ताले हेटौडामा सम्पन्न अन्तर प्रदेश उसु प्रतियोगितामा खड्काले स्वर्ण पदक जितेको बताए ।
उनको स्वर्ण पदक जितेको खुशी परिवारसंग बाड्ने सपना अधुरो रह्यो । राष्ट्रिय रेफ्रि गुप्ताले खड्काको मृत्युले सुदूरपश्चिमले एक होनहार र अनुशासित खेलाडी गुमायएको बताए ।
खड्काको मृत्युको खवरपछि परिवारका सदस्य बुटवल गएका छन् । उनको शव लुम्बिनी अस्पतालको शव गृहमा राखिएको छ ।