टीकापुर, पुष १३
टीकापुर उद्योग वाणिज्य संघले आयोजना गर्ने सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सव २०८० को उद्घाटन समारोह एकदिन पछि सारिएको छ ।
संघले आज पत्रकार सम्मेलनको आयोजना गरी उदघाटन समारोह यही पुष २७ गतेका दिन गर्ने जानकारी दिएको छ । संघले यसअघि महोत्सवको उद्घाटन पुष २६ गर्ते तय गरेको थियो ।
सोही दिन टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय साधारण सभाको उदघाटन समारोह समेत हुने भएकाले संघले महोत्सवको उदघाटन समारोह एकदिन सार्नुपरेको वरिष्ठ उपाध्यक्ष समेत रहेका महोत्सव तयारी तथा व्यवस्थापन समितिका संयोजक सन्तोष खड्काले जानकारी दिए ।
उनले पार्टीको केन्द्रिय साधारण र महोत्सवको उदघाटन समारोह एकैदिन परेको भन्दै नकारात्मक प्रचारबाजी गरिएको प्रति संघले ध्यानाकर्षण सहित यस्तो निर्णय गरेको बताए । ‘दुवै कार्यक्रम एकैदिन हुँदा पनि खाशै फरक त केही पर्ने थिएन’ उनले भने–‘त्यही कुरालाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेपछि यस्तो निर्णय गरियो ।’
उनले कुनैपनि नकारात्मक कुराका कारण समाजमा चर्चा परिचर्चा हुनु हुँदैन भनेर संघले सकारात्मक सन्देश दिन खोजेको बताए । ‘हामीले हाम्रा कारणले समाजमा नकारात्मक कुरा होस भन्ने चाहेका छैनौं’ उनले भने–‘संघ सदैव समाजमा सौहार्दता चाहन्छ ।’
उनले संघ आयोजक भएपनि महोत्सव सम्पूर्ण टीकापुरबासीको साझा पर्व भएकाले सहयोगका लागि आग्रह गरेका छन ।
महोत्सवमा स्थानीयदेखी राष्ट्रिय स्तरका कलाकारहरुको प्रदर्शनी रहने बताईएको छ । यसका साथै महोत्सवका कृषि, विज्ञान प्रर्दशनी समेत हुनेछ । महोत्सवस्थलमा थारु गाउँ समेत निर्माण गरिने भएको छ । यसअघिका वर्षहरुमा समेत महोत्सवस्थलमा थारु गाउँ निर्माण हुँदै आएको छ । थारु गाउँमा थारु कला, संस्कृति प्रर्दशन गरिनुका साथै खानपान पनि उपलब्ध हुने जानकारी दिईएको छ ।
यसका साथै महोत्सवस्थलमा अटोमोवाइल्स, स्थानीय उत्पादन लगायतको समेत प्रर्दशनी गरिनेछ ।