Hamro Patra
आयुर्वेदमा औषधीको अभावः बिरामी रित्तो हात फर्किदै

टीकापुर, पौष ११

कैलालीको सुदूरपूर्वी क्षेत्रमा रहेको एक मात्र आयुर्वेदिक उपचार पाउने टीकापुर आयुर्वेद औषधालयमा आयुर्वेदिक औषधीको अभाव भएको छ । औषधालयमा दैनिक आउने बाथरोग, ग्याष्ट्रिक, पायल्स जस्ता रोगका विरामीहरुका लागि आवश्यक औषधीको अभाव भएको हो ।

औषधालयमा आउने विरामीहरु औषधी नहुँदा रित्तो हात फर्किनु परिरहेको छ । टीकापुर नगरपालिका वडा नं. ५ का ६५ वर्षीय भीमबहादुर चौधरीले आफू दुई पटक आउँदा समेत बाथरोगको औषधी नपाएर फर्किनु परेको बताए ।

Khadga Memorial And Janajagriti

‘तीन महिनादेखि बाथरोगका नियमित औषधी खाइरहेको छु, केही आराम पनि भएको छ’ औषधालयमा भेटिएका चौधरीले भने ‘एक महिना नै हुन थाल्यो औषधी नपाएर दुई पटक फर्किनु परेको छ, कहिले आउने हो टुंगो छैन ।’

जिलै नपाइने आयुर्वेदिक औषधी खाने गरेका बिरामीहरु रित्तो हात फर्किनु पर्दा रोग बल्झिने चिन्ता व्यक्त गर्छन् । टीकापुर नगरपालिका वडा नं. १ का सूर्यजंग शाहीले ग्याष्ट्रिकको औषधी नियमित खाने गरेकोमा दश दिनयता औषधी नपाएर पटक पटक रित्तो हात फर्किएकाले रोग बल्झिने चिन्ता बढ्दै गएको बताए ।

‘छ महिनासम्म नियमित औषधी खान पर्छ भनिएको थियो’ शाहीले भने ‘दश दिनदेखि आइरहेको छु, औषधी नै पाएको छैन, औषधी छुटे फेरि बल्झिन्छ कि भन्ने चिन्ता पो छ त ?’ टीकापुरमा आयुर्वेदिकका अन्य औषधी पसल नहुँदा समेत विरामीहरुले समस्या भोग्ने गरेको शाहीले गुनासो गरे ।

औषधालयमा दैनिक रुपमा २५/३० जना विरामीहरु आउने गरेका छन् । औषधालयका प्रमुख कविराज निरीक्षक अशोककुमार मिश्रले पछिल्लो समय आयुर्वेदिक औषधालयमा आउने विरामीहरुको संख्या बढ्दै गएको बताए । ‘गत वर्ष ४ हजार भन्दा बढी विरामीहरुको उपचार गरेका छौं, औषधी उपलब्ध गराएका छौं’ कविराज निरीक्षक मिश्रले भने ‘यो वर्ष त्यो तथ्यांक बढ्ने देखिएको छ ।’

गत वर्षको तुलनामा विरामीको संख्या बढेका कारण केही दिनयता औषधीको अभाव देखिएको मिश्रले बताए । ‘विशेषगरी पायल्स, बाथरोग, ग्याष्ट्रिकका विरामीहरु गत वर्षभन्दा बढि आएका कारण केही दिनयता औषधीको अभाव देखिएको हो’ मिश्रले भने ‘औषधालय र नगरपालिकाले औषधी खरिदका लागि कोटेशनको प्रक्रिया बढाई सकेको छ ।’

मिश्रले दश दिनभित्रमा औषधालयमा पर्याप्त मात्रामा औषधी आइपुग्ने दाबी गरे । त्यसो त औषधालयमा कर्मचारीको समेत अभाव छ । चार जना कर्मचारीको दरबन्दी रहेको भए पनि औषधालयमा हाल तीन जना मात्रै कार्यरत छन् ।

‘कविराज निरीक्षक एक जना, एक जना वैद्य, एक औषधी कुटुवा र एक जना कार्यालय सहयोगीको दरबन्दी मात्रै छ’ मिश्रले भने ‘कार्यालय सहयोगीलाई नगरपालिकाले वडा कार्यालयमा खटाएको छ, हामीलाई कर्मचारीको अभाव छ ।’

एलोपेथिक औषधीका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखापरिरहेको भन्दै सरकारले नै आयुर्वेदिक औषधी र औषधालयलाई प्रबद्र्धन गर्ने नीति बनाएको भए पनि यस क्षेत्रमा रहेको एक मात्रै आयुर्वेद औषधालयमा औषधीको अभाव हुँदा विरामीहरुले सास्ती खेप्नु परेको छ ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update