Hamro Patra
विदेशबाट फर्केर ३५ जनालाई रोजगारी

टीकापुर, पुष १०
वैदेशिक रोजगारीबाट फर्केका एक व्यक्तिले स्वदेशमै बेतबाँस उद्योग सञ्चालन गरेर ३५ जनालाई रोजगारी दिएका छन । कञ्चनपुरको पुर्नवास नगरपालिका दशरथवस्तीका भरतलाल विश्वकर्माले कैलालीको टीकापुर नगरपालिका–७ सत्तीमा तिलगंगा बेतबाँस फर्निचर उद्योग सञ्चालन गरेर रोजगारी सिर्जना गरेका हुन ।

विगत चार वर्ष अघि सञ्चालन गरेको उद्योगमा स्थानीय ३५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन । उनीहरु प्रति व्यक्ति मासिक १५ देखी २० हजार रुपैयाँ सम्म कमाउँछन । उनको पाँच जनाको परिवार समेत उद्योगमै आश्रित छ । उनीहरु सबै उद्योगमा काम गर्छन ।

उनी रोजगारीका क्रममा नौ वर्ष मलेसिया र पाँच वर्ष भारतको कलकत्तामा बसे । त्यहाँ उनले बेतबाँस उद्योगमा काम गरे । जहाँ उनले बेतबाँसका सामाग्री बनाउन सिके । पैसा र सिप दुवै सिकेर फर्किएका विश्वकर्माले बेतबाँस उद्योग सञ्चालन गर्ने सोच बनाए ।

Khadga Memorial And Janajagriti

उनी बेतबाँस पाईने ठाउँको खोजी गर्दै कैलालीको टीकापुर पुगे । जहाँ बेतबाँस उत्पादन हुन्छ । यहाँको सत्ती कर्णाली सामुदायिक वनमा प्रसस्त मात्रामा बेतबाँस उत्पादन हुन्छ ।

उनले १० लाख रुपैयाँ लगानी गरेर उद्योग सञ्चालन गरे । अहिले उनी वार्षिक ३० लाख रुपैयाँ सम्मको बेतबाँसका सामाग्री बिक्री गर्छन । उनले सोफा, कुर्ची, टेवल, ह्याङ्गर, मुडा, फूलदानी, चुँडी स्टेण्ट, फोटो फ्रेम लगायतका सामाग्री उत्पादन गर्छन । उनलाई सुरुमा सामाग्री बेच्न गाह्रो भएपनि अहिले कुनै समस्या छैन । ‘सुरु सुरुमा केही समस्या थियो । अहिले त कुनै समस्या छैन’ उनले भने–‘कहिले काँही अर्डर अनुसार सामान दिन सकिदैन ।’

उनको सामान काठमाण्डौं, पोखरा, नारायणगढ, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी लगायतका ठाउँमा बढी बिक्री हुन्छ । उनलाई त्यहाँका ब्यापारीहरुले फोन मार्फत अर्डर गर्छन । उनी ब्यापारीले अर्डर गरे अनुसारको सामान तयार पारेर पठाउँछन ।

उनले आफ्नो उत्पादन फुटकर पनि बिक्री गर्छन । आफै बिक्री गर्न भने जाँदैनन् । उनको उद्योगमै पुग्यो भने फुटकर किन्न पाईन्छ । ‘हामी बेच्न कतै जाँदैनौं । कोही उद्योगमै आयो भने बेच्छौं’ उनले भने–‘कसैले मन परायो भने बेच्दैन भन्न पनि मिलेन ।’

पछिल्लो समय बेतबाँसका सामाग्री प्रयोगमा धेरैको रुचि बढेको पाईन्छ । धेरैजसोले घरमा बेतबाँसका सामाग्री प्रयोग गर्दा स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो हुने बताउने गरेका छन । स्वास्थ्यका दृष्टिकोणले मात्रै नभई बेतबाँसका सामान घरमा राख्दा शुभ पनि मानिने टीकापुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष लोकेश साउँद बताउँछन । ‘बेतबाँसलाई शुभ मानिन्छ’ उनले भने–‘यसको सामान राख्ने चलन बढेको छ ।’

विश्वकर्माका अनुसार अहिलेको उत्पादनले बजारको मागलाई धान्न कठिनाई भैरहेको छ । उनी उद्योग बिस्तार गर्ने सोचमा छन । त्यसका लागि कच्चा पदार्थको अभाव हुन्छ कि भन्ने चिन्ता पनि छ । सामुदायिक वनले हरेक वर्ष ६ सयदेखी १ हजार क्विन्टल सम्म बेतबाँस उत्पादन गर्छ । जसमध्ये ३ सय क्विन्टल मात्रै विश्वकर्माको उद्योगको भागमा पर्छ ।

सामुदायिक वनले टेण्डर मार्फत बेतबाँस बिक्री गर्छ । टेण्डर गर्दा बाहिरको ब्यापारीले किन्ने गरेका छन । खासगरी भारतीय ब्यापारीले अप्रत्यक्ष लगानी गरेर बेतबाँस खरिद गरेर लैजाने गरेका छन । ‘हामीसँग सबै बेत किनेर राख्ने क्षमता छैन’ उनले भने–‘बाहिरका व्यापारीले किनेर लगेपछि हामीलाई अभाव हुन्छ ।’

उनले स्थानीयलाई समेत बेतबाँस उपलब्ध गराउनुपर्ने माग राखेर आन्दोलन गर्नुपर्ने स्थिति आउने गरेको दुःखेसो पोखे । उनले अघिल्ला दुईवर्ष कोरोनाका कारण बेतबाँस बाहिर निर्यात नभएपछि आफूले प्रसस्त सामान उत्पादन गरेको बताए ।

उनको उद्योगमा महिला र पुरुष दुवैले रोजगारी पाएका छन । खासगरी महिलाहरुले साँझबिहान घरको काम गरेर दिउसोको समयमा उद्योगमा काम गर्छन । घरआँगनमा खुलेको उद्योगले रोजगारी दिएकोमा स्थानीय निकै खुशी छन । उनीहरु आर्थिक आम्दानीका साथै सिप सिक्न पाएकोमा समेत दंग छन ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update