Hamro Patra
मंसिरमा सत्ती भन्सारको राजश्व संकलन लक्ष्य भन्दा बढी

टीकापुर, पुष १०
लगातार दुई महिना लक्ष्य भेटाउन नसकेको कैलालीको सत्ती भन्सार कार्यालयले मंसिर महिनामा भने लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ । भन्सार विभागबाट एक करोड ३ लाख २७ हजार रुपैयाँ लक्ष्य पाएको कार्यालयले २१ लाख बढी राजश्व संकलन गरेको छ ।

कार्यालय प्रमुख धनबहादुर शाहीका अनुसार मंसिर महिनामा एक करोड २४ लाख ४ हजार ३८७ रुपैयाँ संकलन भएको छ । अघिल्लो दुई महिना भने कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेको थिएन ।

कात्तिक महिनामा लक्ष्यको नजिक पुगेको कार्यालयले असोज महिनामा भने ५७ दशमलव ५० प्रतिशत राजश्व मात्रै संकलन गरेको थियो । कार्यालयले कात्तिकमा ९८ लाख १२ हजार रुपैयाँ र असोजमा एक करोड ८८ लाख ९ हजार रुपैयाँ लक्ष्य प्राप्त गरेको थियो । कार्यालय प्रमुख शाहीका अनुसार कात्तिकमा ९२ लाख ३५ हजार र असोजमा ६२ लाख ६१ हजार मात्रै राजश्व संकलन भएको थियो ।

Khadga Memorial And Janajagriti

कार्यालयले भदौ महिनामा समेत लक्ष्य भन्दा राजश्व संकलन गरेको थियो । ९८ लाख ७८ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य पाएकोमा कार्यालयले भदौमा एक करोड ११ लाख ८० हजार ९९२ रुपैयाँ संकलन गर्न सफल भएको थियो । त्यस्तै चालु आर्थिक वर्षको पहिलो महिनामा ७८ लाख १० हजार रुपैयाँ संकलन गर्ने लक्ष्य पाएकोमा ७१ लाख ९ हजार ७५२ रुपैयाँ मात्रै संकलन भएको थियो । यो लक्ष्यको ९१ दशमलव ०३ प्रतिशत मात्रै हो ।

चालु आवमा कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलन गर्ने सम्भावना कम रहेको छ । अघिल्ला पाँच आर्थिक वर्षमा कार्यालयले एकमा मात्रै लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सफल भएको देखिन्छ ।

उसले आर्थिक वर्ष २०७७/०७८ मा मात्रै ११ प्रतिशत बढी राजश्व संकलन गरेको छ । सो आर्थिक वर्ष कार्यालयले १४ करोड २३ लाख ४८ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य पाएकोमा १५ करोड ८३ लाख ७ हजार रुपैयाँ संकलन गरेको थियो ।

आर्थिक वर्ष २०७५/०७६ मा लक्ष्य ९ करोड र संकलन ५ करोड ६९ लाख ११ हजार रुपैयाँ, आर्थिक वर्ष २०७६/०७७ मा लक्ष्य ७ करोड २९ लाख ७७ हजार र संकलन ५ करोड ८० लाख ७ हजार रुपैयाँ भएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्य २० करोड ५८ लाख ६१ हजार र संकलन १० करोड ६९ लाख ९३ हजार र आर्थिक वर्ष २०७९/०८० मा लक्ष्य १६ करोड ९४ लाख ४१ हजार र संकलन ७ करोड ५० लाख ४० हजार रुपैयाँ भएको कार्यालय प्रमुख शाहीले जानकारी दिए ।

उनका अनुसार चोरी तस्करी र क्वारेन्टाईनको अभावमा कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलन गर्न समस्या भैरहेको छ । उनले जनशक्तिको अभावमा चोरी तस्करी नियन्त्रणमा समस्या भैरहेको बताए । उनले कार्यालयमा दरबन्दी अनुसारको जनशक्ति नरहेको जानकारी दिए ।

उनका अनुसार ६ जना सुब्बाको दरबन्दी भएपनि हाल दुई जना मात्रै कार्यरत छन । उनी आफैले समेत सत्तीका अलावा बर्दियाको दुईवटा भन्सार कार्यालय समेत हेर्नुपर्ने वाध्यता रहेको छ ।

छोटी भन्सार कार्यालयका रुपमा रहेको सत्ती भन्सार कार्यालय २०७५ सालमा मुल भन्सारमा परिणत भएको हो । यो कार्यालय कैलाली जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा अवस्थित छ ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update