Hamro Patra
मुख्य सडकमै जथाभावी पार्किङः छैन नगरलाई चासो

टीकापुर, पौष ८

टीकापुर नगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेको छ लेन सडकमै जथाभावी पार्किङ हुने गरेको छ । छ लेन सडकको सर्भिस लेनमा रहेका बैंक तथा वित्तीय संस्था, व्यापारिक फर्म अगाडि जथाभावी पार्किङ हुने गरेको हो ।

सडकमा पार्किङ गर्ने ठाउँ नहुँदा सडकमै साइकल, बाइक तथा गाडीहरु पार्किङ हुने गरेका छन् । सर्भिस लेनमा रहेका बैंक तथा वित्तीय संस्था अगाडि जथाभावी पार्किङ हुँदा आवतजावतमा समस्या हुने गरेको टीकापुर नगरपालिका वडा नं. ३ का धनु चौधरीले बताए ।

Khadga Memorial And Janajagriti

‘हाटबजार अगाडि रहेको ग्लोबल आइएमई बैंकको बाटो त सधैं जाम नै हुन्छ’ चौधरीले भने ‘छ लेन सडकको सर्भिस लेनमा सहजै आवतजावत हुनुपर्नेमा पार्किङले सास्ती खेप्नु परिरहेको छ ।’

मुख्य सडकमा रहेको सिद्धार्थ बैंक, एनआएसी एसिया बैंक, महालक्ष्मी बैंक, नबिल बैंक, सनराइज लक्ष्मी बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, सानिमा बैंक तथा ग्लोबल आइएमई बैंक अगाडि जथाभावी पार्किङ हुने गरेको छ ।

व्यवस्थित प्लानिङ शहरका रुपमा रहेको टीकापुरमा पार्किङका लागि छुट्याइएका स्थानहरुको प्रयोगमा नगरपालिकाले ध्यान दिन नसकेपछि सेवाग्राहीहरु पार्किङको समस्या भोग्दै आएको टीकापुरकै तारा खड्का बताउँछन् ।

‘टीकापुरमा चौडा र फराकिला बाटोहरुको समस्या छैन, पार्किङ गर्ने स्थानहरुको पनि व्यवस्था छ’ खड्काले भनिन् ‘तर ती स्थानहरुको प्रयोग गर्नेतर्फ नगरपालिकाले ध्यान दिन नसक्दा जथाभावी पार्किङ हुने गरेको छ, यसले शहर कुरुप हुनुका साथै सेवाग्राहीले समेत सास्ती खेप्दै आएका छन् ।’

मुख्य सडकमात्र नभएर टीकापुरस्थित मालपोत कार्यालय, नापी कार्यालय, प्रशासन कार्यालयमा समेत पार्किङको समस्या छ । सेवाग्राहीको दैनिक भीडभाड हुने कार्यालय क्षेत्रमा पार्किङको कुनै व्यवस्था नहुँदा दुर्घटनाको जोखिम बढेको स्थानीय वीरेन्द्र धामीले बताए ।

‘दैनिक नागरिकता बनाउने, पासपोर्ट बनाउन, जग्गाको कारोबार गर्ने, मालपोत र नापीमा आउने सेवाग्राहीका लागि पार्किङ गर्ने ठाउँ नै छैन’ धामीले भने ‘सेवाग्राहीले बाटोमै पार्किङ गर्दा बाटो साँघुरो भएर दुर्घटनाको जोखिम हुने गरेको छ ।’

यता, टीकापुर नगरपालिकाका उपप्रमुख खड्कबहादुर शाह बाटोको उपयोगिताबारे सचेतना जगाउन आवश्यक रहेको बताए ।

‘बाटोमा बनाइएका लेनको प्रयोगबारे सर्वसाधारणलाई सचेतना जगाउन आवश्यक रहेको छ’ उपप्रमुख शाहले भने ‘नगरपालिका, ट्राफिक प्रहरीसँगको सहकार्यमा पार्किङको समस्या समाधानका लागि पहल गरिरहेको छ, समस्याबारे हामी सचेत छौं । आमसर्वसाधारणले समेत सचेत भइदिन जरुरी छ ।’

बजार क्षेत्रका मुख्य सडकमा बढिरहेको चाप र अवस्थित पार्किङका कारण दुर्घटना हुनेतर्फ सचेत रहन समयमै पार्किङ व्यवस्थापनमा नगरपालिकाले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update