Hamro Patra
नगरका चारै सार्वजनिक शौचालयमा भोटेतालाः बजेट सक्न ब्यूटिफिकेशनको नारा

टीकापुर, पौष ४

कुनै पनि ठाउँको मुख्य बजार क्षेत्रमा सर्वसाधारणका लागि सार्वजनिक शौचालय बनाइएको हुन्छ । आमसर्वसाधारणलाई सहज रुपमा दिशापिसाब गर्नका लागि पायक पर्ने स्थानमा सार्वजनिक शौचालय निर्माण गरिन्छ ।

सरसफाई र फोहोरमैला व्यवस्थापनका लागि निर्माण गरिएका टीकापुर नगरपालिकाको मुख्य बजार क्षेत्रका चारवटै सार्वजनिक शौचालयहरुमा वर्षौंदेखि भोटेताल्चा छन् ।

Khadga Memorial And Janajagriti

खुल्ला मञ्च पूरानो हाटबजारः

टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. १४ मा पर्ने खुल्ला मञ्च पूरानो हाटबजार अघि झण्डै दुई दशकअघि निर्माण गरिएको सार्वजनिक शौचालय बन्द छ ।

खुल्ला मञ्चमा हरेक शनिवार टीकापुर सांस्कृतिक समाजले देउडा खेल लगाउँदै आएको छ । महिला र पुरुष गरी एक हजार बढी सर्वसाधारणहरु हरेक शनिवार देउडा खेल्न आउँछन् । त्यसका अतिरिक्त उक्त सडक बजारको मुख्य प्रवेश केन्द्रमा परेका हरेक दिन हजारौं संख्यामा हिँड्ने सर्वसाधारणलाई उक्त शौचालय बन्द हुँदा निकै सास्ती भोग्नु परेको छ ।

खुल्ला मञ्च खानेपानी ट्यांकीः

छ वर्षअघि टीकापुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले झण्डै २५ लाखको लागतमा निर्माण गरेको शौचालयमा भोटे ताल्चा छ ।

उक्त शौचालय निर्माण भएदेखि नै सञ्चालन हुन नसकेको स्थानीयहरु बताउँछन् । महिला, पुरुषका लागि छुट्टाछुट्टै र एक सटर समेत रहेको उक्त शौचालय बन्द छ ।

टीकापुर अस्पताल चोक

टीकापुर बजारको मुख्य भागमा पर्ने बलभद्र चोक टीकापुर अस्पतालको गेट अगाडि रहेको सार्वजनिक शौचालय बन्द भएको दशक हुन थाल्यो ।
पटक-पटक मर्मत गर्दै केही समय सञ्चालन हुँदै आए पनि उक्त शौचालय नियमित सञ्चालन हुन सकेको छैन ।

टीकापुर अस्पतालमा दैनिक आउने छ शय भन्दा बढी बिरामी तथा बजार आउने सर्वसाधारणहरु समस्यामा पर्ने गरेका छन् । शौचालयसँगै रहेको मासु पसलका सञ्चालकहरु समेत शौचालय बन्द हुँदा समस्यामा परेको बताउँछन् ।

भानुचोकमा रहेको सार्वजनिक शौचालय

कैलालीको टीकापुर नगरपालिकाको मुख्य भानु चोकमा पर्ने ओपनस्पेसमा रहेको सार्वजनिक शौचालय विगत चार वर्षदेखि नै बन्द छ ।

नगरपालिका केन्द्रबाट पाँच शय मिटरको दुरीमै रहेको ओपनस्पेसमा निर्मित सार्वजनिक शौचालय बन्द हुँदा समेत आँखा चिम्लिएको नगरपालिकाले आयोजनाको बजेट सक्न अर्को शौचालय बनाउने तरखर गरेको हो ।

नगरपालिकाले शहरी खानेपानी तथा सरसफाई क्षेत्रगत आयोजनाको लागतमा झण्डै २० लाख रुपैयाँको लागतमा ओपनस्पेशमै सार्वजनिक शौचालय बनाएर बजेट सक्ने ध्याउन्नमा नगरपालिकाले लागेको हो ।

नगर प्रमुख थारुले बजारको व्यूटिफिकेशन गर्ने भन्दै शौचालय निर्माणका लागि वातावरण बनाउन छलफल आयोजना गरेको बताए ।

आज टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले स्थानीयबासीसँग ओपनस्पेसमा शौचालय निर्माणका लागि सहमति गर्न भन्दै छलफल चलाए । छलफलमा सहभागी स्थानीयबासीले बन्द अवस्थामा रहेको शौचालयले समेत बजारको मुख्य क्षेत्रमा दुर्गन्ध फैलाएको भन्दै बन्द गर्न दबाव दिए ।

उनीहरुले सरोकारवाला नागरिकसँग छलफल नै नगरी नगरपालिकाले हचुवाका भरमा शौचालय बनाउन खोजेको बताए । स्थानीय होमबहादुर तुलाचलने नगर प्रमुख डगौरासँग भने ‘तपाईहरुले हामीलाई हेपेर जथाभावी बनाउने सोच्नु भयो, चार वर्षदेखि बन्द भएको शौचालयको दुर्गन्ध अहिलेसम्म हामीले भोग्नु परेको छ ।’

भानु चोकमा रहेको सार्वजनिक शौचालयलाई बन्द राख्दै अर्को शौचालय बनाउन न्वारनदेखिको बल लगाइरहेको नगरपालिकाले बजार क्षेत्रमा रहेका चारवटा सार्वजनिक शौचालयहरु भने सञ्चालन गर्न सकेको छैन ।

बन्द अवस्थामा रहेका शौचालय सञ्चालन गर्ने योजनामा रहेको बताउँदै आएका नगर प्रमुख थारुको योजनाले सार्थकता कहिले पाउने हो यकिन छैन ।

चार वर्षदेखि सार्वजनिक शौचालय बन्द

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update