Hamro Patra
सार्वजनिक शौचालय चार वर्षदेखि बन्दः ओपनस्पेसमा नयाँ बनाउने तरखर

टीकापुर, पौष ३

कैलालीको टीकापुर नगरपालिकाको मुख्य भानु चोकमा पर्ने ओपनस्पेसमा रहेको सार्वजनिक शौचालय विगत चार वर्षदेखि बन्द छ । नगरपालिका केन्द्रबाट पाँच शय मिटरको दुरीमै रहेको ओपनस्पेसमा निर्मित सार्वजनिक शौचालय सञ्चालन गर्नुको साटो नगरपालिकाले त्यही ठाउँमा अर्को शौचालय बनाउने तरखर गरेको छ ।

नगरपालिकाले शहरी खानेपानी तथा सरसफाई क्षेत्रगत आयोजनाको लागतमा झण्डै २० लाख रुपैयाँको लागतमा ओपनस्पेशमै सार्वजनिक शौचालय बनाउने तरखर गरेको हो ।

Khadga Memorial And Janajagriti

झण्डै दुई दशकअघि नै सञ्चालन भएर बन्द रहेको शौचालयकै छेउमा अर्को शौचालय बनाउने तरखर गरेपछि स्थानीयहरु आक्रोशित भएका छन् ।
मुख्य बजार क्षेत्रमै भएको शौचालय सञ्चालन गर्नुको साटो अर्को बनाउन निर्माण कम्पनीले लेआउट गरेपछि स्थानीयले अवरोध गरे ।

टीकापुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष भीमबहादुर रावलले बजार क्षेत्रमा पार्किङका लागि छोडिएको ओपनस्पेसमा शौचालय निर्माण गर्ने कुरा उचित नभएको बताए ।

‘बजारको दुबैतर्फ पार्किङका लागि ओपनस्पेस छोडिएको हो, यसमा पार्किङ गर्ने स्थान बनाउनुको साटो शौचालय बनाउने कुरा सुहाउँदैन’ रावलले भने ‘भएको शौचालय बन्द छ, नयाँ बनाउने नाममा बजेट सक्नु उचित हुँदैन ।’

स्थानीय होमबहादुर तुलाचनले नगरको सौन्दर्य नै बिगार्ने गरी बजारको मुख्य क्षेत्रमा अर्को शौचालय बनाउने तरखर गर्दा आफूहरुले विरोध गरेको बताए ।

‘हामीले मेयरसापलाई समेत कुरा राखेका छौं, निर्माण कम्पनीलाई काम रोक्न भनेका छौं’ तुलाचनले भने ‘बजारमा किनमिल गर्नेहरुका गाडीहरु पार्किङ गर्ने ठाउँमा शौचालय बनाएर बजार र प्लानको सौन्दर्य बिगार्नु बाहेक केही होइन ।’

स्थानीय व्यवसायी तपेन्द्र स्वाँरले केन्द्रबाट आएको बजेट भन्दै जथाभावी गरिने निर्माणले व्यवस्थित शहर, टीकापुर कुरुप बन्ने खतरा रहेको बताए ।
‘केन्द्रबाट बजेट आयो भनेका छन्, जथाभावी निर्माण गरेका छन्, बजेट सक्ने मेलो बाहेक केही होइन’ आक्रोशित हुँदै स्वाँरले भने ‘बजारको मुख्य क्षेत्रमा शौचालयको समस्या भए मोबाइल शौचालय राख्नुपर्छ, यहाँ स्थायी संरचना बनाउन कुनै पनि हातलमा दिइँदैन ।’

स्थानीयले अवरोध गरेपछि निर्माण कम्पनीले काम रोकेको छ । टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डगौरा थारु र प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर विष्टले स्थानीयसँग काम सुचारु गर्न आग्रह गरे ।

टीकापुर नगरपालिकाका नगर प्रमुख थारुले बजार क्षेत्रका सेवाग्राहीलाई ध्यानमा राखेर व्यवस्थित ढंगको शौचालयसहित ओपनस्पेस सौन्दर्यकरण गर्न काम अघि बढाएको बताए ।

‘शौचालय निर्माण गरेर बजार कुरुप हुन्छ भन्ने लाग्दैन, बजारमा आउने सेवाग्राहीका लागि सहज होस् भन्ने उद्देश्यले निर्माण गर्न भनेका हौं’ नगर प्रमुख थारुले भने ‘आक्रोशित स्थानीयहरुसँग छलफल गरेर शौचालय निर्माणको प्रक्रिया अगाडि बढाउँछौं ।’

आक्रोशित स्थानीयले बजेट फिर्ता गए पनि पार्किङका लागि छोडिएको ठाउँमा शौचालय बनाउन नदिने अडान लिए । बजारका मुख्य चोकमा रहेका सार्वजनिक शौचालय बन्द रहेको अवस्थामा सोही ठाउँमा अर्को बनाउन नहुने स्थानीयहरु बताउँछन् ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update