Hamro Patra
लागुऔषधको दलदल:  देशभरमै दोश्रो स्थानमा कैलाली

टीकापुर, पौष १

सीमावर्ती भारतसँगको खुल्ला सीमानाका रहेको कैलाली पछिल्लो समय लागुऔषधको दलदलमा फस्दै गएको छ । सीमावर्ती क्षेत्रबाट हुने लागुऔषध कारोवार र प्रहरीले दर्ता गरेका मुद्दाका आधारमा कैलाली लागुऔषधको दलदलमा फस्दै गएको हो ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोका अनुसार लागुऔषधसँग जोडिएका मुद्दामा कैलाली दोश्रो जिल्लामा पर्दछ । पहिलो जिल्लाका रुपमा रहेको काठमाडौं पछि कैलालीमा लागुऔषधका मुद्दा बढी दर्ता भएको देखिन्छ ।

Khadga Memorial And Janajagriti

नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० मा काठमाडौंमा ४ शय ९३ लागुऔषध मुद्दा दर्ता भएका छन् भने कैलालीमा ३ शय ४७ वटा मुद्दा दर्ता भएका छन् ।

कैलालीसँगै मोरङ, पर्सा, झापा, सिराहा, कञ्चनपुर, बाँके, मकवानपुर र सुनसरीमा लागुऔषधका मुद्दाहरु बढी दर्ता छन् । लागुऔषध ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले प्रहरीले दर्ता गरेका मुद्दाका आधारमा कैलाली दोश्रो जिल्लाका रुपमा रहेको बताए ।

‘एक वर्षमा दर्ता भएका मुद्दाहरुको आधारमा कैलाली देशभरिमै दोश्रो जिल्लाका रुपमा रहेको छ’ उपरीक्षक जोशीले भने ‘पहिलो नम्बरमा काठमाडौं छ भने तराई क्षेत्रका अधिकांश जिल्लाहरु लागुऔषधको दलदलमा फस्दै गएको देखिन्छ ।’

साथीहरुसँगको संगत, परिवारिक समस्या, मानसिक समस्या, शैक्षिक समस्या, सेवन गर्ने उत्सुकता, सीमा क्षेत्रबाट हुने सहज आपूर्ति लगायतका कारण लागुऔषधका मुद्दाहरु बढ्दै गएको उपरीक्षक जोशीले बताए ।

‘मुद्दाको तथ्यांक अनुसार २५–२९ वर्ष उमेर समूहका ३५ प्रतिशत, २०–२४ वर्ष उमेर समूहका ३४ प्रतिशत ३०–३४ वर्ष उमेर समूहका १३ प्रतिशत लागुऔषध प्रयोगकर्ताहरु रहेको देखिन्छ’ उपरीक्षक जोशीले भने ‘पाँच वर्ष अगाडि नेपालमा १ लाख ३० हजार बढी लागुऔषध प्रयोगकर्ताहरु रहेका थिए भने हाल उक्त तथ्यांकमा निकै वृद्धि भएको पाइन्छ, यही अवस्था रहे कलिलो उमेरका युवायुवती लागुपदार्थको दलदलमा फस्दै जाने देखिन्छ ।’

प्रहरी उपरीक्षक जोशीले लागुऔषध नियन्त्रण सामाजिक रोग भएको बताउँदै यसको नियन्त्रणका लागि घरपरिवार, समाज र सबै तहले सक्रियता देखाउनु पर्नेमा जोड दिए ।

नागरिक समाज टीकापुरका पूर्व संयोजक भीमराम चपाईले लागुऔषधको दलदलले २०–३५ वर्ष उमेर समूहका युवाहरु फस्दै गएको बताए । ‘देशको सक्षम उमेर समूहका युवाहरु लागुऔषधको दलदलमा फस्दै गएका छन्’ चपाईले भने ‘यसमा प्रहरी मात्रै नभएर स्थानीय, प्रदेश र संघीय सरकारले गम्भीरताका साथ नियन्त्रणमा लाग्न जरुरी छ ।’ उनले नागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको बताए ।

टीकापुरस्थित नयाँ विहानी पुनःस्थापना केन्द्रका अध्यक्ष कल्पेश कुँवरले पारिवारिक भेदभाव, सामाजिक दृष्टिकोण र साथीभाइसँगको संगतले लागुपदार्थको चङ्गुलमा युवाहरु फस्दै गएको बताए ।

‘लागुऔषध सेवनकर्ताहरु रोगी हुन्, उनीहरुलाई परिवारका सदस्य र समाजले गर्ने व्यवहारले थप समस्या पर्दै जाने गरेका हुन्छन्’ कुँवरले भने ‘त्यसकारण पारिवारिक वातावरण, साथीभाइको संगत, समाजले हेर्ने दृष्टिकोण र राज्यले समेत यसको न्यूनिकरणका लागि योजना बनाउनै पर्छ ।’

लागुपदार्थका पूर्व दुव्यर्सनी रहेका कुँवरले पुनःस्थापना केन्द्रहरुले लागुपदार्थमा लतमा परेकालाई उद्दारको पहल गरेको भए पनि त्यो पर्याप्त नभएको बताए ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update