Hamro Patra
लागुऔषध व्यूरोको खक्रौलामा छड्के

टीकापुर, मंसिर ३०

कैलालीको दक्षिणवर्ती भारतीय सीमानाका खक्रौलामा नेपाल प्रहरीको लागुऔषध ब्यूरोले छड्के निरीक्षण गरेको छ ।

केन्द्रिय व्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशी, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही लगायतको टोलीले सीमानाका खक्रौलामा छड्के निरीक्षण गरेको हो ।

Khadga Memorial And Janajagriti

कैलालीमा लागुऔषध प्रयोगकर्ताको संख्या र कारोबार वृद्धि भइरहेको चर्चा भइरहेका बेला केन्द्रिय व्यूरोले सीमा क्षेत्रमा छड्के निरीक्षण गरेको हो ।

निरीक्षणका क्रममा प्रहरी उपरीक्षक जोशीले नेपाल भारत सीमा क्षेत्रबाट भइरहेको लागुऔषधको कारोबार नियन्त्रणमा स्थानीयले सचेत रहँदै सहयोग गर्नुपर्ने बताए ।

‘लागुऔषध सामान्य समस्या होइन, यसले परिवार र समाज नै बर्बाद बनाइरहेको छ’ उपरीक्षक जोशीले भने ‘अधिकांश लागुऔषध पदार्थ भारतीय सीमाबाट नेपाल आउने गरेकाले यसमा स्थानीयले सहयोग गर्नुपर्छ, आज अरुको घरमा रहेको लागुऔषधको समस्या जुनसुकै बेला आफ्नो घर पुग्नसक्छ ।’

सीमामा भेटिएका नेपाल तथा भारतीय नागरिकलाई लागुऔषधको बारेमा जानकारी दिँदै उपरीक्षक जोशीले लागुऔषध सम्बन्धी सूचना दिएर प्रहरीलाई सहयोग गर्न आग्रह गरे । ‘तपाई हाम्रा छोराछोरी बचाउन समेत प्रहरीलाई सूचना दिन जरुरी छ’ जोशीले भने ‘लागुऔषधमा संलग्न कारोबारीहरु समाजकै दुश्मनका रुपमा रहेका छन् ।’

इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी विश्वराज अधिकारीले नेपाल प्रहरी लागुऔषधप्रति कठोर भएर प्रस्तुत भइरहेका बेला सेवनकर्ता र कारोबारीलाई नछोड्ने बताए ।

यसअघि टीकापुर उद्योग वाणिज्य संघमा व्यूरोको आयोजनामा लागुऔषध सेवनकर्ताहरुसँग गर्नुपर्ने व्यवहार विषयक सचेतना कार्यक्रम गरिएको थियो । टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाणी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समाजसेवी भीमराम चपाई रहेका थिए ।

कार्यक्रममा प्रहरी उपरीक्षक जोशीले लागुऔषधको समस्या, यसबाट प्रभावित उमेर समूह, समाधानका उपाय, कानुनी कारवाहीको अवस्थाका बारेमा जानकारी दिएका थिए ।

प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले सञ्चालन गरेको कार्यक्रममा नयाँ विहानी पुनःस्थापना केन्द्रका अध्यक्ष कल्पेश कुँवर, पत्रकार परमानन्द पाण्डे लगायतले लागुऔषध नियन्त्रणका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

 

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update