Hamro Patra
घरमै पुगेर इजरायली राजदुतले भेटे मृतकका आफन्त

टीकापुर, मंसिर २७

नेपालका लागि इजरायली राजदूत खनान गोदरले गत असोज २० गते इजरायलमा भएको हमासको आक्रमणमा ज्यान गुमाएका कैलालीका दुई विद्यार्थीका आफन्तलाई घरमै पुगेर भेटेका छन् ।

राजदूत गोदरले ‘अर्न एण्ड लर्न’ कार्यक्रममा इजरायल गएर हमासको आक्रमणबाट ज्यान गुमाएका घोडाघोडी नगरपालिका वडा नं. ४ जनकपुरका नारायणप्रसाद न्यौपाने र जोशीपुर गाउँपालिका वडा नं. ५ का आशिष चौधरीका आफन्तलाई आज घरमै पुगेर भेटेका हुन् ।

Khadga Memorial And Janajagriti

इजरायलको एलुमिम फर्ममा कार्यरत सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कुल अफ एग्रिकल्चरका दश जना विद्यार्थीले हमासको आक्रमणमा ज्यान गुमाएका थिए ।

स्कुल अफ एग्रिकल्चरद्धारा मंगलवार आयोजित शोक सभामा पुगेका राजदूत गोदरले मृतकका परिवारका सबै सदस्यसँग भेट गर्न घरमै पुगेको बताए ।

‘मैले इजरायल जानुअघि ती प्रत्येक विद्यार्थीसँग तिमी को हो ? तिमी भावी योजना के हो ? किन जान चाहन्छौं ? भनेर सोधेको थिएँ’ राजदूत गोदरले भने ‘उनीहरु केही नयाँ प्रविधि सिकेर नेपाल फर्किने योजनाका साथ गएका थिए, दुर्भाग्य उनीहरु आतंककारी हमासको आक्रमणमा परेको घटनाले हामी निकै दुःखित छौं ।’

मृतकको परिवारका सदस्यलाई सान्त्वना दिँदै राजदूत गोदरले पाहुनाका रुपमा इजरायल गएर ज्यान गुमाएका प्रत्येक परिवार अब इजरायलका लागि आफ्नै परिवारसरह भएको बताए ।

‘उनीहरु इजरायल जाँदा पाहुनाको रुपमा गएका हुन्, घटनापछि उनीहरु हाम्रो परिवारका सदस्य हुन्, तपाई अब हाम्रो परिवार हो’ न्यौपानेका आफन्तसँग राजदूत गोदरले भने ‘हामी मासिक रुपमा इजरायली नागरिकले प्राप्त गर्ने सेवा र सुविधा तपाईहरुलाई प्रदान गर्नेछौं, तपाईहरुको पीडामा इजरायल आजीवन रहनेछ ।’

राजदूत गोदरले परिवारका सबै सदस्यहरुबारे सोधखोज गरे । यता, जोशीपुरमा आशिष चौधरीको परिवारलाई भेट्दै गोदरले उक्त घटना क्रुरताको पराकाष्टा रहेको बताए ।

‘हमास आतंककारीले अन्धाधुन्ध हत्या गरे, विदेशीहरु, बालबालिका, महिला कसैलाई केही पनि सोधेनन्’ गोदरले भने ‘लोकतन्त्रको सामान्य मान्यताको ख्याल समेत नगरी गरिएको आक्रमणमा परी ज्यान गुमाएका विद्यार्थीको परिवारप्रति इजरायलको समवेदना छ, हामी सधैं साथमा रहनेछौं ।’

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहसँगै मृतकका परिवार भेट्न पुगेका राजदूत गोदरले विपिन जोशीको सकुशल रिहाईका लागि इजरायलले जस्तोसुकै कदम चाल्ने बताए ।

‘हमासद्धारा बन्दी बनाइएका नेपाली विद्यार्थी बिपिन जोशीको रिहाईका लागि इजरायली सरकारले कुनै कसर बाँकी राख्नेछैन’ गोदरले भने ‘हामी उनको सकुशल रिहाई र फिर्ताको लागि पहल गरिरहेका छौं ।’ टीकापुरमा भएको कार्यक्रममा राजदूत गोदरले मृतकका विद्यार्थीका परिवारहरुसँग समेत भेटघाट गरेका थिए ।

राजदूत गोदरसँगै मृतक न्यौपाने र चौधरीका आफन्त भेट्न पुगेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहले मृतकको स्मृतिमा विश्वविद्यालय, प्रदेश सरकार र इजरायली राजदूताबासको संयुक्त प्रयासमा कृषिकै क्षेत्रमा कार्यक्रम ल्याउने बताए ।

‘हमासको आक्रमणले हामी सबैलाई दुःखी तुल्याएको छ, ती परिवारसँग सुदूरपश्चिम प्रदेश सरकारसँगै छ’ मुख्यमन्त्री शाहले भने ‘विश्वविद्यालय, प्रदेश सरकार र दुताबासको संयुक्त प्रयासमा मृतक विद्यार्थीहरुको स्मृतिमा कृषि क्षेत्रमै केही कार्यक्रम ल्याउने छौं ।’

राजदूत गोदरले मृतक चौधरी र न्यौपानेका परिवारसँगको भेटपछि कस्तो महशुस भयो ? भन्ने जिज्ञासामा भने ‘सबै परिवारमा कि बालबच्चा छन्, कि वृद्धवृद्धा छन्, कमाउने उमेरमा छोरा गुमाउँदा उहाँको पीडा खपिनसक्नु छ, मृतकको क्षतिपूर्ति त हुनै सक्दैन तर पनि हामीले इजरायली नागरिक सरहको सुविधा हरेक महिना दिने व्यवस्था गर्दैछौं ।’

मृतकका आफन्त भेट्न घरसम्मै पुगेका मुख्यमन्त्री शाह र राजदूत गोदरसँगको भेटमा परिवारका सदस्यहरुले सदस्य गुमाउँदाका पीडा पोखेका थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update