Hamro Patra
इजरायल घटनामा मारिएका विद्यार्थीका परिवारलाई इजरायली सरह बीमा सुविधा

टीकापुर, मंसिर २७
इजरायल घटनामा मारिएका नेपाली विद्यार्थीका परिवारले त्यहाँकै नागरिक सरह बीमा सुविधा पाउने भएका छन । इजरायली राजदूत खनान गोदरले विद्यार्थीका परिवारका सदस्यहरुलाई टीकापुरमा भेटेर आफ्नै देशको नागरिक सरह बीमा सुविधा उपलब्ध गराईने जानकारी दिए ।

इजरायल सरकारले बीमा सुविधा वाफतको रकम विद्यार्थीका परिवारका खातामा जम्मा हुने गरी व्यवस्था मिलाईने इजरायली दूताबासका एक अधिकारीले जानकारी दिएका छन । उनले गोपनीयताका कारण कति रकम जम्मा हुन्छ भन्ने बारेमा जानकारी दिन नमिल्ने बताए ।

‘इजरायली नागरिकले पाउने जति नै रकम पाउनुहुन्छ’ उनले भने –‘त्यो रकमले विद्यार्थीका परिवारलाई जीविकोपार्जनमा सहयोग पुग्नेछ भन्ने विश्वास गरेका छौं ।’

Khadga Memorial And Janajagriti

उनले ज्यान गुमाएका विद्यार्थीसँग पैसाको तुलना नहुने भन्दै बीमा वाफतको रकमले परिवारलाई थोरै भएपनि राहत पुग्ने बताए ।
इजरायल सरकारले सो रकम ज्यान गुमाएका विद्यार्थीका आमाबुबा, श्रीमती र छोराछोरीका बैंक खातामा मासिक रुपमा उपलब्ध गराउने छ । उनले तत्काल यो बाहेकको थप रकम भने उपलब्ध गराउन नसकिने जानकारी दिए ।

घाईते विद्यार्थीका हकमा सबै उपचार इजरायल सरकारले नै गर्ने बताईएको छ । ती अधिकारीका अनुसार अंगभंग भएका विद्यार्थीलाई समेत सहयोग रकम उपलब्ध गराईनेछ ।

इजरायली दूताबासको टोलीले ज्यान गुमाएका विद्यार्थीका परिवारको रेकर्ड लिएको छ । टोलीले मृतक विद्यार्थीसँगको नाता सम्बन्ध बारेका कागजात संकलन गरेको छ । सोही क्रममा राजदूत गोदरले विद्यार्थीका परिवारका सदस्यहरुसँग भेटघाट गरेका थिए ।

उनले मृतक विद्यार्थीका परिवारलाई इजरायली नागरिक सरहको व्यवहार गरिने आश्वासन दिएका छन । उनले आगामी दिनमा समेत आफूहरु परिवारको साथमा रहने बताए । ‘भोलिका दिनमा पनि के गर्न सकिन्छ भन्ने बारेमा सोचिरहेका छौं’ उनले भने –‘इजरायल सरकार यहाँहरुको साथमा छ ।’

उनी मृतक विद्यार्थीका परिवारका सदस्यहरुसँग भेट्दा निकै भावुक भएका थिए । उनले मृतक विद्यार्थीका परिवारका सदस्यहरुलाई सान्त्वना दिएका थिए ।

उनले सोही क्रममा इजरायलबाट हमासको अपहरणमा परेका विद्यार्थी कञ्चनपुरका विपिन जोशीका बुबा महानन्द जोशीलाई समेत भेटेका छन । जोशीले छोराको पखाईमा रहेको भन्दै सहयोगका लागि अनुरोध गरे । जोशीलाई आश्वस्त पार्दै राजदूत गोदरले सक्दो पहल भैरहेको बताए ।

‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्र्तगत इजरायल गएका टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका दश जना विद्यार्थीको हमासको आक्रमणमा परेर असोज २० गते ज्यान गएको थियो ।

ज्यान जानेमा बझाङका गणेशकुमार नेपाली, डोटीका पदम थापा, डोटीकै राजन फूलारा, दार्चुलाका लोकेन्द्रसिँह धामी, दार्चुलाकै दिपेशराज बिष्ट, कैलालीका नारायणप्रसाद न्यौपाने, कैलालीकै आशिष चौधरी, सल्यानका प्रवेश भण्डारी, सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द साह रहेका छन ।

सोही कार्यक्रमा उनीहरु सहित विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका थिए । ती मध्ये कञ्चनपुरका जोशी अहिलेसम्म बेपत्ता छन ।

तस्विरः कार्यक्रममा उपस्थित मृतक विद्यार्थीका परिवारका सदस्यहरु ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update