Hamro Patra
इजरायलमा ज्यान गुमाएका विद्यार्थीको सम्झनामा स्मृति सभा

टीकापुर, मंसिर २६
इजरायलमा हमास विद्रोहीको आक्रमणमा परेर ज्यान गुमाएका विद्यार्थीहरुको सम्झनामा आज टीकापुरमा स्मृति सभाको आयोजना गरिएको छ । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायले सभाको आयोजना गरेको हो ।

सभामा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले इजरायल घटनाबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेको बताए । उनले अनाहकमा नागरिक गुमाउनु पर्दा जीवनभर बिर्सन नसकिने पिडा महशुस भैरहेको बताए ।
‘मृत्यु सत्य हो । हरेकले जन्मेपछि मर्नै पर्छ’ उनले भने –‘तर कुनैकुनै मृत्यु जीवनभर बिर्सन सकिदैन । यो घटना पनि त्यस्तै हो ।’

उनले घरपरिवारका सपना साकार पार्ने विद्यार्थीहरुको लक्ष्य अधुरो रहन पुगेको बताउँदै प्रदेश सरकार सदैव पीडित परिवारको साथमा रहने प्रतिवद्धता व्यक्त गरे । उनले पीडित परिवारको जीविकोपार्जनका लागि सक्दो सहयोग गर्ने बताए ।

Khadga Memorial And Janajagriti

सोही सभामा बोल्दै इजरायली राजदूत खनान गोदरले त्यहाँ मारिएका विद्यार्थीका परिवार अब आफ्ना परिवार सरह भएको बताए । उनले इजरायल सरकारले मृतकका परिवारलाई आफ्नै परिवार सरह सहयोग गर्ने बताए । ‘अब तपाईहरु हाम्रो परिवार हो’ उनले भने –‘इजरायल सरकार तपाईहरुको साथमा छ ।’

उनले त्रिभुवन विमानस्थलबाट आफैले हात मिलाएर विदाई गरेका विद्यार्थीहरुका बारेमा खबर सुन्नु पर्दा निकै दुःख लागेको बताए । उनले त्यो क्षण आफ्ना लागि जीवनकै कठिन भएको बताए । ‘त्यो मेरा लागि निकै कठिन क्षण थियो’ उनले भने –‘मैले नै हात मिलाएर विदाई गरेको थिए ।’

उनले इजरायल र नेपालको झण्डै साठी वर्ष लामो सम्बन्धमा हमासले तिक्तता ल्याउन खोजेको बताए । उनले खराब मान्छेहरुले समस्या खडा गरे पनि दुई देश बिचको सम्बन्धमा कुनै असर नपार्ने बताए ।

कार्यक्रममा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबा महानन्द जोशीले छोरो फर्किने पर्खाईमा रहेको बताए । उनले इजरायली राजदूतसँग छोरालाई फर्काई दिन आग्रह गरे । उनले युद्धविरामको अन्त्य पश्चात आफ्नो परिवार थप निराश भएको बताए ।

राजदूत गोदरले जोशीसँग कुराकानी गर्दै विपिनलाई सकुशल उद्धार गर्ने बारेमा पहल भैरहेको बताए । उनले विपिन नेपाल फर्किने कुरामा विश्वस्त रहन आग्रह गरे ।

टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगत कृषि विज्ञान संकायका १० जना विद्यार्थीको असोज २० गते इजरायलमा हमासको आक्रमणमा परेर ज्यान गएको थियो ।

ज्यान जानेमा बझाङका गणेशकुमार नेपाली, डोटीका पदम थापा, डोटीकै राजन फूलारा, दार्चुलाका लोकेन्द्रसिँह धामी, दार्चुलाकै दिपेशराज बिष्ट, कैलालीका नारायणप्रसाद न्यौपाने, कैलालीकै आशिष चौधरी, सल्यानका प्रवेश भण्डारी, सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द साह रहेका छन ।

उनीहरु लर्न एण्ड अर्न कार्यक्रम अन्र्तगत त्यहाँ पुगेका थिए । सोही कार्यक्रमा उनीहरु सहित विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका थिए । ती मध्ये कञ्चनपुरका विपिन जोशी अहिलेसम्म बेपत्ता छन ।

मृतकका परिवारलाई सहयोग हस्तान्तरण

सुदूरपश्चिम प्रदेश सरकारले मृतक विद्यार्थीहरुका परिवारलाई आर्थिक सहयोग गरेको छ । घटना लगत्तै घोषणा गरेको सहयोग रकम आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज भट्टले स्मृति सभामा हस्तान्तरण गरेका छन ।

उनले प्रति परिवार दुई लाखका दरले सहयोग रकम हस्तान्तरण गरेका छन । सो रकम सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा स्थायी घर भएका सात जना मृतक विद्यार्थीहरुका परिवारलाई हस्तान्तरण गरिएको हो ।

सोही अवसरमा विश्वविद्यालयका प्राध्यापक र कर्मचारीहरुबाट संकलित रकम समेत मृतक विद्यार्थीहरुका परिवारलाई प्रदान गरिएको छ ।

अक्षयकोष स्थापना गर्ने घोषणा

मृतक विद्यार्थीहरुका परिवारले अक्षयकोष स्थापनाको घोषणा गरेका छन । उनीहरु मध्ये राजन फूलारा र पदम थापाका परिवारले यस्तो घोषणा गरेका हुन ।

फूलाराका दाई टीका फूलाराले १ लाख ५१ हजार १०१ रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरे । उनले कार्यक्रममा आफ्ना कुरा राख्न नदिएको प्रति दुःख व्यक्त गरे ।
उनले मृतकका परिवारको पीडालाई वेवास्ता गरेको महशुस भएको बताए ।

थापाका दाई दानबहादुर थापाले समेत भाईको स्मृतिलाई जीवित राख्न अक्षयकोष बनाउने बताए । उनले पैसाले भाई फिर्ता नआउने भन्दै भाई लगायत सबैको स्मरण हुने गरी कुनै काम गर्न सुझाव दिए ।

मृतकका परिवारहरुको कुरा सुने पछि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका डीन डा. विष्णु विलास अधिकारीले विद्यार्थीहरुको सम्झनामा अक्षयकोष र शालिक स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरे

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update