Hamro Patra
जाजरकोटमा श्रम गर्न गए टीकापुरका दुई टोल विकास संस्था

टीकापुर, मंसिर २४

टीकापुर नगरपालिका वडा नं. ७ का दुई वटा टोल विकास संस्थाको एक टोली भूकम्प प्रभावित जिल्ला जाजरकोटमा श्रम सहयोग गर्न गएको छ ।
वडाका आदर्श र कालिका टोल विकास संस्थाका १२ जना सदस्यहरुको टोली भुकम्प प्रभावित जाजरकोटमा एक सातासम्मका लागि श्रम गर्न अस्थायी घर निर्माण गर्न आज गएको हो ।

गैरसरकारी संस्था सहकर्मी समाज नेपालले भुकम्प प्रभावित जाजरकोटमा अस्थायी घर निर्माणमा श्रम गर्ने टोल विकास संस्थाका सदस्यहरुका लागि यातायात तथा खाना र बासको व्यवस्थापन गरेको छ ।

CMA Staff

आदर्श टोलका ८ जना र कालिका टोलका ४ जना गरी १२ जनाको समूहमा गएको टोलीले भुकम्प पीडितका लागि ११ क्विन्टल चामल र १४ हजार ८ शय १५ रुपैयाँ सहयोग गर्नेछ ।

टोलका सदस्यहरुले स्वऐच्छिक रुपमा गरेको सहयोगको चामल र नगद प्रभावितहरुलाई हस्तान्तरण गर्ने टोलीका संयोजक बासुदेव कोइरालाले जानकारी दिए ।

‘हामी एक सातासम्म जाजरकोटमा प्रभावितहरुसँगै श्रम गरेर सहयोग गर्नेछौं’ कोइरालाले भने ‘टोलका सदस्यहरुले स्वऐच्छिक रुपमा संकलन गरेको चामल र नगद प्रभावितले हस्तान्तरण गर्नेछौं ।’

टोलीलाई टीकापुर नगरपालिकाका उपप्रमुख खड्कबहादुर शाहले विदाई गरे । ‘दुःखमा परेका जाजरकोट र रुकुमका नागरिकको दुःखमा साथ दिन टोल विकास संस्थाका सदस्यहरु श्रम गर्न जाने कुरा मानवीय दृष्टिले अतिउत्तम कार्य हो’ उपप्रमुख शाहले भने ‘नगरपालिकामा रहेका अन्य टोल विकास संस्थाले समेत यसैगरी सहयोग गर्नका लागि यो प्रेरणादायी काम हुनसक्छ ।’

उपप्रमुख शाहले श्रम दान मार्फत् टीकापुरको समवेदना जाजरकोटसम्म पुग्ने अपेक्षा गरे । 

सहकर्मी समाजका नवराज जोशीले स्वयम्सेवकको रुपमा काम गर्न जाजरकोट जाने टोलीलाई कोहलपुरमा सामान्य अभिमुखीकरण गरेपछि जाने बताए ।

जाजरकोट जाने टोलीलाई वडा नं. ७ कै ओजुवा ताल टोल विकास संस्थाले ८ हजार र टीकापुर नगरपालिका वडा नं. १ को सिर्जनशील टोल विकास संस्थाले ६ हजार ८ शय १५ रुपैयाँ सहयोग गरेका छन् ।

उक्त रकम पीडितलाई हस्तान्तरण गरिने टोलीका सदस्य गोविन्द कोइरालाले जानकारी दिएका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update