Hamro Patra
आठ बजेदेखि नै ओपीडी सञ्चालनमा

टीकापुर अस्पतालः अब आठ बजेदेखि नै ओपिडी शुरु
टीकापुर, मंसिर २२
बिरामीको चाप बढ्दै गएको टीकापुर अस्पतालले विहान ८ बजेदेखि नै ओपिडी सेवा सुरु गरेको छ ।

यसअघि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको ओपिडी सेवा बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।

CMA Staff

कार्यालय शुरु हुने समयभन्दा अगाडि अस्पतालले ओपिडी सेवा सञ्चालन गरेपछि कर्मचारी र टाढाका बिरामीका लागि सहज भएको छ । विहानैदेखि ओपिडी सुरु भएपछि आफूलाई सहज भएको लम्कीचुहा नगरपालिका वडा नं. ६ गुलराकी हीरादेवीले बताइन् ।

‘यसअघि विहान नाम लेखाउन आउनु पथ्र्यो, त्यसपछि चेकजाँच र रिपोर्ट लिँदा दिनभरि लाग्थ्यो’ उनले भने ‘विहानै नाम लेखाउन आउनेबित्तिकै चेकअप भएपछि धेरै सजिलो र छिटो भएको छ ।’

अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले ओपिडी सेवाको समय बढाउने निणर्य यसअघि नै गरेको बताए । नाम दर्ताका लागि अस्पताल पुग्ने व्यक्ति उपचार नगरी घर नफर्किओस् भन्ने उद्देश्यले ओपिडी सेवा विहानैदेखि सुरु गरिएको उनले बताए ।

‘सेवाग्राहीहरुले विहान नाम दर्ता गरेर घर फर्कने र फेरि उपचारका लागि आउनुपर्ने बाध्यता थियो, बाहिरबाट आउने सेवाग्राहीले पनि लामो समय कुर्नुपर्ने अवस्था थियो’ उनले भने ‘सेवाग्राहीको भिडभाड कम होस्, सबैले सर्वसुलभ सेवा पाउन भनेर ओपिडी सेवा विहानैदेखि शुरु गरिएको    हो ।’

अस्पतालले यसअघि नै जेष्ठ नागरिकहरूका लागि शनिबार समेत विहान १० बजेदेखि दिउँसो २ बजेसम्म ओपिडी सेवा सञ्चालन गर्दै आएको छ । हाल अस्पतालमा हाल २० जना चिकित्सकले सेवा दिइरहेका छन् ।

अस्पतालले मृगौलाको डायलासिस सेवा सञ्चालनको प्रक्रिया अघि बढाएको छ । ‘डायलासिस सेवा सञ्चालनका लागि उपकरण आइसकेको छ । अब त्यसको जडान र जनशक्ति व्यवस्थापनको कुरा मात्रै बाँकी छ’ अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रेमकुमार राईले भने ‘सम्भवतः केही महिनामै डायलासिस सेवा सञ्चालन हुन्छ ।’

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update