Hamro Patra
एलपीएलमा युथ अफ टीकापुरको विजयी शुरुवात

धनगढी, मंसिर २१

कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टीकापुर र सत्यवती एकेडेमी विजयी भएका छन् । युथ अफ टीकापुरले शारदा सेकेण्डरी स्कुललाई तथा सत्यवती एकेडेमीले जेएस स्पोर्ट्स-११ सुपर स्टार्सलाई पराजित गर्‍यो ।

आजको पहिलो खेलमा युथ अफ टीकापुरले विजयी सुरुवात गर्ने क्रममा शारदा सेकेण्डरी स्कुलविरुद्ध ९४ रनको फराकिलो जित दर्ता गर्‍यो ।टीकापुरले दिएको १ शय ९० रनको लक्ष्य पछ्याएको शारदाले २० ओभर ब्याटिङ गर्दै ६ विकेट गुमाएर ९५ रन मात्र बनायो ।

CMA Staff

शारदाको ब्याटिङमा सुशान्त खत्रीले सर्वाधिक ३७ तथा सुवास सिंहले १६ रनको योगदान दिए । युथ अफ टीकापुरका प्रकाश जैशीले ३ विकेट लिए भने मोहम्मद हुसेन, प्रेम शाह र सुमित महर्जनले १/१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको टीकापुरले १७.५ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनाएको थियो । टीकापुरका कप्तान प्रेम शाहले सर्वाधिक ४८ रन बनाए । प्लेयर अफ द म्याच घोषित शाहले ३७ बलमा ७ चौका प्रहार गरे । यस्तै सुमित महर्जनले ३४, हरि चौहानले २५, प्रदिप ऐरीले २४ तथा मोहम्मद हुसेनले २३ रन बनाए ।

शारदाको बलिङमा विश्वास पन्त एक्लैले ६ विकेट लिए जुन क्रममा उनले ३.५ ओभरमा ३१ रन खर्चिए । अभिषेक मल्लले २ तथा सुशान्त कार्कीले १ विकेट लिए ।

आजको दोश्रो खेलमा सत्यवती एकेडेमीले विजयी सुरुवात गर्ने क्रममा जेएस स्पोर्ट्स-११ लाई ३ विकेटले पराजित गर्‍यो । जेएस स्पोर्ट्स-११ ले दिएको ९९ रनको लक्ष्य सत्यवतीले १२.५ ओभरमा ७ विकेट गुमाएर पुरा गर्‍यो ।

सत्यवतीको लागि ओपनर इमरान शेखले सर्वाधिक ३४ रन योगदान दिए जुन क्रममा उनले २४ बलमा ५ चौका र १ छक्का प्रहार गरे । समिर कार्कीले १३ तथा खगेन्द्र जोशी ११ रन बनाए ।

जेएस स्पोर्ट्स-११ का बलर राज बमले ३ विकेट, नितिश न्यौपानेले २ तथा साजन बिटालुले १ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको जेएस स्पोर्ट्स-११ सुपर स्टार्सले २० ओभरमा ९ विकेट गुमाएर ९८ रन बनायो ।

जेएस स्पोर्ट्स-११ को लागि राजेश साउँदले सर्वाधिक १९ तथा सुनिल चन्दले १७, रोयल बमले ११ तथा साजन बिटालुले ११ रन बनाए ।

सत्यवतीको बलिङमा अभिषेक कोइरालाले ३ विकेट लिए भने फिर्दोश अन्सारी, रञ्जित कुमार र सन्तोष कार्कीले समान २/२ विकेट लिए । प्लेयर अफ द म्याच घोषित भएका अभिषेकले ४ ओभरमा १५ रन खर्चिए ।

प्रतियोगिता अन्तर्गत छैठौं दिन पनि दुई खेल हुनेछन् । पहिलो खेल विहान ९ बजे युथ अफ टीकापुर र धनगढी क्रिकेट एकेडेमी बिच तथा दोश्रो खेल दिउँसो १ बजे धनगढी स्पोर्ट्स क्लब र शुक्लाफाँटा ब्ल्याक बक्स बिच हुनेछ ।

प्रतियोगिताको उपाधि विजेताले २ लाख ५५ हजार र उपविजेताले १ लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता रहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update