Hamro Patra
राजनीतिक चक्रव्युहमा वीरेन्द्र विद्यामन्दिर

टीकापुर, मंसिर २०

वीरेन्द्र विद्यामन्दिर मावि कुनैबेला टीकापुरको गौरव गर्ने संस्थाका रुपमा चिनिन्थ्यो । यसैका कारण टीकापुरलाई शैक्षिक नगरीको उपमा पनि दिइएको थियो । तर यतिबेला त्यही गौरव गर्न लायक संस्था धरासायी बन्न पुगेको छ ।

विद्यालयमा राजनैतिक हस्तक्षेप हावी छ । जसका कारण विद्यालय भर्ती केन्द्र बन्न पुग्यो । विद्यालयमा हाल स्थायी, अस्थायी, करार र आंशिक गरेर ७२ जना शिक्षक कर्मचारी कार्यरत छन । ती मध्ये अधिकांश बिना विज्ञापन भर्ती गरिएका छन ।

Khadga Memorial And Janajagriti

कसैलाई विद्यालय व्यवस्थापन समितिको निर्णयका आधारमा नियुक्ति दिइएको छ भने कसैकसैको नियुक्ति पत्रमा समितिका अध्यक्षको तोकादेश भनेर समेत उल्लेख गरिएको छ । विद्यालयमा शिक्षक कर्मचारी भर्ती गर्ने क्रम अझै रोकिएको छैन । पछिल्लो घटनाक्रम अनुसार तीन जना विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले आफ्ना श्रीमती र बुहारीलाई जागिर लगाएपछि विद्यालय थप विवादमा तानिएको छ ।

शिक्षक कर्मचारीलाई आन्तरिक बढुवा गर्दा समेत विभेद गरिन्छ । खुल्ला प्रतिस्पर्धाबाट क्षमताका आधारमा जागिर खाएकालाई भन्दा तोकादेशमा भर्ती गरिएकाहरुलाई बढुवा गर्दा प्राथमिकतामा राखेको पाइएको छ । कतिपय प्रावि तहको सहायकमा नियुक्ति पाएकाहरु अहिले मावि तहमा पुगेका छन भने कतिपय लामो समयदेखि जुन पदमा नियुक्ति लिएका हुन सोही पदमा कार्यरत रहेको स्रोतले बताएको छ ।

‘चाकरी गर्नेहरु अघि बढेका छन’ स्रोतले भन्यो –‘चाकरी नगर्नेहरु अहिले पनि जहाँको त्यहिँ काम गरिरहेका छन ।’

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका आसेपासेहरुलाई जागिर लगाउने थलो बनेको विद्यालयको आर्थिक र शैक्षिक अवस्था दयनीय बन्न पुगेको छ । विद्यालयमा विद्यार्थी संख्या विगतको तुलनामा घटेको छ । हाल मावि तह (कक्षा १०) सम्म १ हजार ७११ विद्यार्थी अध्ययनरत छन । अघिल्लो वर्ष कक्षा ११ मा ४४७ विद्यार्थी भर्ना भएकोमा यसवर्ष अहिलेसम्म २१६ जना मात्रै भर्ना भएका छन । ११ को भर्ना अभियान जारी छ ।

‘भर्ना अभियान जारी रहेकाले यो संख्या बढ्न सक्छ’ प्रधानाध्यापक फणेन्द्रराज रेग्मीले भने –‘तर अघिल्लो वर्षको भन्दा विद्यार्थी संख्या निक्कै घटेको छ ।’

कुनैबेला विद्यालयमा विद्यार्थी संख्या अत्याधिक हुन्थ्यो । विद्यालयमा आफ्ना छोराछोरी भर्नाका लागि अभिभावकले भनसुन गर्नु पथ्र्यो । पश्चिम नेपालका सुदूर तथा मध्यपश्चिमका अधिकांश जिल्लाबाट विद्यार्थी पढ्नका लागि आउँथे । ती बाहेकका जिल्लाबाट पनि विद्यार्थी पढ्न आएको इतिहास छ ।

यो विद्यालय २०३१ सालमा स्थापना भएको हो । यसको तत्कालिन नाम टीकापुर आवाशीय माध्यमिक विद्यालय थियो । २०४४ साल जेठ ५ गते तत्कालिन राजदरवारबाट विद्यालयको नाम वीरेन्द्र विद्यामन्दिर राख्न पत्राचार गरियो । सोही पत्रमा विद्यालयसँगैको छात्रावासको नाम ऐश्वर्य छात्रावास राख्न निर्देशन दिइएको थियो ।

तत्कालिन टीकापुर विकास समितिले विद्यालयको स्थापना गरेको हो । समितिले सुरुवातमै विद्यालयका नाममा ५० विगाह जमिन उपलब्ध गराएको थियो । सो मध्येको २४ विगाह जमिन विद्यालयले स्थानीय विनोद साहलाई भाडामा दिएको छ । जसबाट वार्षिक १२ लाख ३ हजार ६२४ रुपैयाँ आम्दानी हुन्छ ।

विद्यालयको थप १५ विगाह जमिन २०६६ सालमा बिक्री गरियो । विद्यालय आर्थिक रुपमा धरासायी भएको हवाला दिँदै जग्गा बिक्री गरिएको थियो । विद्यालयले जग्गा बिक्री गर्न नमिल्ने भएपछि केही व्यक्तिहरुले सार्वजनिक शैक्षिक गुठी स्थापना गरेर जग्गा बिक्री गरे । हाल सो जमिन व्यक्तिका नाममा दर्ता भएर बस्ती बनेको छ । ५० विगाह मध्ये बिक्री र भाडामा दिएर बचेको जमिनमा विद्यालय, छात्रावास र खेलमैदान रहेको छ ।

तत्कालिन समितिले विद्यालयलाई थप ५० विगाह जमिन भोगाधिकार दिएको छ । सो जमिन मध्ये १० विगाह विद्यालयले प्राकृतिक स्रोत कलेजलाई निःशुल्क दिएको छ भने ५ विगाह प्यारागन एग्रो हव एण्ड रिसर्च सेन्टरलाई भाडामा दिएको छ । विद्यालयले भाडा वाफत वार्षिक १ लाख ५० हजार रुपैयाँ आम्दानी गर्छ । भोगाधिकार प्राप्त ५० विगाह मध्येको ३५ विगाह जमिन भने २०६४ सालदेखि बाढी पीडितले कब्जा गरेका छन ।

विद्यालयले १५ विगाह जमिन बेचेर ९ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको थियो । जसमध्ये तीनवटा छुट्टाछुट्टै अक्षयकोष निर्माण गरेको तत्कालिन प्राचार्य किर्तिसिंह बमले जानकारी दिए । उनका अनुसार ५ करोडको अक्षयकोष उच्च मावि (हाल मावि) का नाममा, २ करोडको अक्षयकोष क्याम्पसका नाममा र २ करोड ३६ लाखको सम्वृद्धि कोष स्थापना गरिएको थियो । सम्वृद्धि कोषबाट ऋण लिएर विद्यालयले २० जना शिक्षक कर्मचारीलाई उपदान सहित अवकास दिएको थियो ।

आर्थिक भार बढेको भन्दै जग्गा बेचेर शिक्षक कर्मचारीलाई अवकाश दिएको विद्यालयले लगत्तै सोही हाराहारीमा शिक्षक कर्मचारी भर्ती गरेको थियो । त्यस यता शिक्षक कर्मचारी भर्ती गर्ने प्रतिस्पर्धा सुरु भएको देखिन्छ । विद्यालय व्यवस्थापन समितिमा पुग्ने र टीकापुरमा अग्रमोर्चामा राजनीति गर्ने अधिकांशले आफ्ना आसेपासेलाई विद्यालयमा जागिर खुवाएको पाइन्छ । सो क्रम वर्तमान समितिका सदस्यहरुले समेत निरन्तरता दिएका छन ।

आर्थिक रुपमा ओरालो लागेको विद्यालयमा शिक्षक कर्मचारी भर्ना गर्ने क्रम नरोकिए पछि स्थानीयले विरोध गर्दै आएका छन । स्थानीयले विकृतिको विरोध गरे पनि कहिँ कतैबाट सुनुवाई भने हुन सकेको छैन । हाल नौ सदस्यीय विद्यालय व्यवस्थापन समितिको अध्यक्ष शिक्षा विकास तथा समन्वय ईकाई कैलालीका प्रमुख बैकुण्ठ सुवेदी रहेका छन ।

समितिको सदस्यहरुमा नगर प्रमुख, विद्यालय निरीक्षक, शिक्षक प्रतिनिधि र चारजना पार्टीका प्रतिनिधि रहेका छन । समितिमा चार ठूला दलले एक एक सदस्य भागबण्डा गरेका छन । जसमा नेपाली काँग्रेसका चेतमान खत्री, नागरिक उन्मुक्तिका अर्जुनबहादुर ठकुल्ला, नेकपा एमालेका प्रकाश खड्का र माओवादीका कमला कोइराला छन । समितिको सदस्य सचिवमा प्रधानाध्यापक रेग्मी छन ।

विद्यालयले करिब २ विगाह जग्गा दिएर २०६३ सालमा वीरेन्द्र विद्यामन्दिर क्याम्पस स्थापना गरियो । क्याम्पसमा हाल स्नातकोत्तर तहसम्मको अध्ययन हुन्छ । क्याम्पसको छुट्टै व्यवस्थापन समिति रहेको छ । जसको अध्यक्ष महेन्द्रसिँह बम छन ।

क्याम्पस र विद्यालयको एक छाता संस्था पनि रहेको छ । जसको नाम वीरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षिक गुठी हो । १३ सदस्यीय गुठीमा विभिन्न व्यक्ति र संस्थाको प्रतिनिधित्व रहने गरेको छ । गुठीलाई कुनै कार्यकारी अधिकार भने छैन । गुठीको वैधानिकता माथि समेत प्रश्न उठ्ने गरेको छ ।

विद्यालय विद्यार्थीको मासिक शुल्कबाट चलेको छ । सो विद्यालयमा ८० प्रतिशत विद्यार्थी निम्न आय भएका परिवारका बालबालिका छन । विद्यालयलाई भर्तीकेन्द्र बनाउँदा त्यसको असर निम्न आय भएका परिवारमा पर्ने गरेको छ । उनीहरु निःशुल्क पढ्न पाउनुपर्ने ठाउँमा मासिक शुल्क तिरेर पढ्न बाध्य छन । यस्तो अवस्थामा विद्यालयलाई भर्तीकेन्द्र बनाइनु न्यायोचित नहुने स्थानीयको भनाई छ ।

शिक्षक कर्मचारीहरुले असोज महिनादेखि तलब पाउन सकेका छैनन् । उनीहरुले दशैं तिहार जस्ता चाडपर्वमा समेत तलब पाउन नसकेको दुःखेसो पोखे । प्रधानाध्यापक रेग्मीले मासिक शुल्क संकलन नभएकाले तलब दिन नसकेको बताए । उनले १ करोड रुपैयाँ भन्दा धेरै शुल्क संकलन हुन बाँकी रहेको जानकारी दिए । उनका अनुसार कक्षा ११ र १२ मा करिब ६० लाख ५८ हजार ३८० र कक्षा १० सम्म ४६ लाख ३१ हजार ५०० रुपैयाँ शुल्क संकलन हुन सकेको छैन ।

‘आर्थिक अवस्था भने जस्तो नाजुक छैन’ रेग्मीले भने –‘मासिक रुपमा तलब दिने गरेका छौं । यो पटक मात्रै केही समय ढिलो भएको हो ।’ उनले मासिक २५ देखि २८ लाख रुपैयाँसम्म तलबमा खर्च हुने बताए ।

विकास समिति ऐन २०१३ अन्र्तगत गठन भएको टीकापुर विकास समिति २०६५ मा विघटन भयो । ऐनको दफा ८ को उपदफा २ (क) मा समितिको विघटन पश्चात सबै हक, दायित्व र ऋण नेपाल सरकारको हुने उल्लेख छ । सोही अनुसार टीकापुर अस्पताल, बसपार्क, बिक्री हुन बाँकी रहेको जग्गा र चल अचल सम्पत्ती सम्बन्धित निकायमा हस्तान्तरण समेत गरियो । समितिको मातहतमा रहेको वीरेन्द्र विद्या मन्दिर विद्यालयलाई भने अलपत्र छोडियो ।

समिति विघटन भए पश्चात भौतिक योजना तथा निर्माण मन्त्रालय राज्यमन्त्री स्तरबाट निर्णय गरेर विद्यालय सरकारीकरणका लागि २०६५ बैशाख २६ गते शिक्षा तथा खेलकुद मन्त्रालयमा अनुरोध गरिएको थियो । भर्तीकेन्द्र बनेको विद्यालयलाई जिम्मा लिन सरकारी पक्षबाट सुनुवाई भएन ।

विद्यालय व्यवस्थापन समितिको संस्थापक अध्यक्ष ज्ञान बहादुर सिंह थापा हुन । उनी छोटो समय अध्यक्ष रहे । २०३२ देखि २०४६ सम्म ज्ञानराज शाही अध्यक्ष बने । २०४८ सम्म विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिहिन रह्यो । त्यसपछि समितिकै अध्यक्ष विद्यालयको अध्यक्ष रहने व्यवस्था गरियो । २०६६ देखि २०७३ सम्म कैलालीको प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने व्यवस्था भयो । त्यस यता भने साविक जिल्ला शिक्षा कार्यालयको प्रमुख अध्यक्ष रहने व्यवस्था रहेको छ ।

स्थापना कालदेखि नै सरकारको लगानी र संलग्नता रहेको विद्यालय अहिलेसम्म सरकारी बन्न सकेन । विघटनको बेला समितिको नेतृत्वमा रहेकाले समेत विद्यालयलाई बेबारिसे अवस्थामा छोडे । जसको परिणाम सरकारी लगानी र संलग्नता रहेको विद्यालय अहिले निजी विद्यालय सरह सञ्चालन भैरहेको छ । यस विद्यालयबाट उत्तीर्ण निम्न आय भएका परिवारका विद्यार्थीहरुले सरकारी विद्यालयबाट उत्तीर्ण विद्यार्थी सरहको सेवा सुविधाबाट बञ्चित हुनु परेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update