टीकापुर, मंसिर १९
सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल स्थित इजरायली राजदूत हनेन गोडर बिच काठमाडौंमा भेटबार्ता भएको छ ।
भेटका क्रममा राजदुत गोडरले सुदुरपश्चिम विश्वविद्यालयबाट अर्न एण्ड लर्न कार्यक्रममा गएका विद्यार्थीमाथि भएको हमास अक्रमणको निन्दा गरे ।
भेटमा मुख्यमन्त्री शाहले सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत अध्ययनका सिलसिलामा हमास आक्रमणमा परी ज्यान गुमाएका दश नेपाली विद्यार्थीका परिवारलाई राहत र क्षतिपूर्तिको माग गरे । साथै उनले विद्यार्थीका परिवारजनलाई भेट्न समेत आग्रह गरे ।
मुख्यमन्त्री शाहले भेटका क्रममा अहिलेसम्म बेपत्ता रहेका कञ्चनपुरका बिपिन जोशी तत्काल खोजबिन गरि सकुशल उद्धार गर्न आग्रह गरे ।
भेटमा सुदूरपश्चिम प्रदेश सरकारले २०८० फाल्गुन २३ र २४ गते आयोजना गर्न गै रहेको सुदुरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनमा पनि इजरायली सरकारको साथ, समर्थन र सहयोगका लागि अनुरोध गरे ।