Hamro Patra
सीमास्तम्भ मर्मत गर्दै सशस्त्र प्रहरी

टीकापुर, मंसिर १८

कैलाली र कञ्चनपुरका भारतीय सीमा क्षेत्रमा पर्ने सीमास्तम्भ सशस्त्र प्रहरी बलले मर्मत गर्ने भएको छ । नेपाल-भारत सीमास्तम्भ मर्मत तथा रङरोगन गर्ने भएको हो ।

CMA Staff

यसअघि भारतीय पक्षसितको समन्वयमा नापी विभागले सीमास्तम्भ मर्मत तथा रङरोगन गर्दै आएको भए पनि यस पटक सरकारले सशस्त्र प्रहरी बललाई त्यसको जिम्मेवारी दिएको छ ।

सशस्त्र प्रहरी बल नं ७ वैजनाथ मुख्यालय अत्तरियाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले कैलालीको बङ्गग्रा कटान र कञ्चनपुरको डोकेबजारबाट आज दिउँसोदेखि मर्मत सम्भारको काम सुरु हुने बताए ।

‘सरकारले दिएको जिम्मेवारी अनुसार सशस्त्र प्रहरी बलले आजबाट भारतीय पक्षसित समेत सहकार्य र समन्वय गरी सीमास्तम्भ मर्मतको काम सुुरु गर्दैछ’ उनले भने ‘विजोर सीमास्तम्भ सशस्त्र प्रहरी र जोर सीमा स्तम्भ भारतीय एसएसबीले मर्मत तथा रङरोगन गर्नेछ ।’ कञ्चनपुरतर्फ सशस्त्र प्रहरीको नं ३५ गण मुख्यालय र कैलालीमा नं ३४ गणले सो कार्य गर्नेछ ।

त्यसैगरी सशस्त्र प्रहरी बल नं ३५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सुरक्षा समिति र जनप्रतिनिधि र भारतीय सीमा सुरक्षा बल (एसएसबी) समेतको उपस्थितिमा सोमबार दिउँसो डोकेबजारस्थित मुख्य सीमास्तम्भ ७५३ बाट मर्मतको काम सुरु हुने जानकारी दिए ।

‘कञ्चनपुरमा पर्ने मुख्य सीमास्तम्भमध्ये ६६ वटा सशस्त्र प्रहरी बलले मर्मत गर्नेछ भने १३ वटा एसएसबीले गर्नेछ’ प्रहरी उपरीक्षक रावलले भने, ‘त्यसका लागि सरकारले नापी विभागबाट समेत एक जना प्रतिनिधि खटाएको छ ।’

उनले वि.सं. २०१४ पछाडि बनेका सीमास्तम्भ मात्रै मर्मत/सम्भार गर्ने जिम्मेवारी सरकारबाट प्राप्त भएको बताए ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update